मधुमल्ला / मोरङको उर्लाबारी–१ मा रहेका क्रसर उद्योग हटाउन आन्दोलित रहेका स्थानीयबासी र क्रसर सञ्चालकबीच झडप भएको छ । शुक्रबार स्थानीयबासीको बिरोधका बाबजुद उर्लाबारी–१ स्थित पञ्चेश्वर क्रसर उद्योग सञ्चालन भए पछि उनीहरुबीच झडप भएको हो । उर्लाबारी वडा नं. १ मा मापदण्ड विपरीत क्रसर हटाउन माग गर्दै गत चैत्र १५ गतेदेखि स्थानिय निरन्तर रिले अनसनमा बसिरहेका छन् ।
क्रसर उद्योग सञ्चालन गरेपछि मापदण्ड विपरीतका क्रसर कुनै पनि हालतमा सञ्चालन गर्न नदिने भन्दै स्थानीयबासीहरु क्रसर उद्योगभित्रै पुगेर अवरोध सिर्जना गरे । विहानैदेखि क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयबासीले अवरोध सिर्जना गर्न खोज्दा झडप भएको हो ।
झडपमा पञ्चेश्वर क्रसर उद्योगमा कार्यरत तीन कर्मच।री घाइते भएका छन् । घाईते हुनेमा उर्लाबारी – १ का चित्र बहादुर गौतम, शेरबहादुर गौतम र ७ नं. वडाका युवराज ढकाल रहेका छन् । उनीहरुको स्थानीय गोदावरी हस्पिटलमा उपचार पछी घर फर्केका छन् ।
ढकाललाई भने उर्लाबारीमा उपचार सम्भब नभएपछी बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको क्रसर उद्योगका संचालक प्रकाश खड्गीले जानकारी दिए । उनको ३ वटा दाँत झरेका, ओठ र पछाडी टाउकोमा गहिरो चोट लागेको छ ।
यस अघि प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले उर्लाबारीको क्रसरबारे जिल्ला प्रशासनलाई पत्र पठाई जानकारी मागेको थियो । सरकारलाई क्रसर हटाउन आग्रह गर्दा चासो नदिए पछि स्थानीयबासी प्रदेश सरकार समक्ष पुगेका थिए ।