धनकुटा / यातायात सेवा केन्द्रको कार्यालय राखिने स्थान विहिवार टुंगो लागेको छ ।
धनकुटा नगरपालिका वडा नं. ४ देबे्रबास स्थित स्वास्थ्य तालिम केन्द्रको परिषरमा रहने निर्णय भएको प्रदेश एकका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए । सेवा केन्द्रबाट यातायात सवारी परिक्षण लगायत सम्पूर्ण सेवा उपलब्ध हुने जनाईएको छ ।
यसैबिच, मुख्यमन्त्रीको कार्यालयका प्रतिनिधि, प्रदेश सचिव अधिकारी सहितको उपस्थितिमा विहिवार जिल्लास्थित सुरक्षा प्रशासनिक निकाय तथा प्रदेशस्तरीय कार्यालयका प्रमुखको बैठक सम्पन्न भएको छ । बैठकले यातायात सेवा केन्द्र रहने स्थानको टुंगो लगाउनुका साथै मेडिकल कलेज, प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्र लगायतका कार्यालय स्थापना गर्नेबारे समेत छलफल भएको थियो ।
धनकुटा नगरपालिका १ स्थित कुवापानीमा रहेको नेपाल प्रहरीको जग्गामा प्रदेश स्तरीय तालिम केन्द्र स्थापना गरिनेबारे समेत छलफल भएको छ । यसैगरी, पर्यटन तथा श्रम कार्यालय रहनु पर्ने समेत स्थानीयले माग गरेका छन् । राजधानी माग्दैं आएको धनकुटालाई यस अघि नै स्वास्थ्य तथा शिक्षा निर्देशनालय प्रदेश सरकारले स्थापना गरिदिएको छ ।
यस्तै, साविकको क्षेत्रीय प्रशासन कार्यालयमा मुख्य मन्त्रीको सम्पर्क कार्यालय रहने यस अघि नै निर्णय भइसकेको छ । उक्त सम्पर्क कार्यालय आगामी बैशाख २९ गते औपचारिक रुपमा सञ्चालनमा आउने प्रमुख सचिव अधिकारीले बताए । मुख्य मन्त्री शेरधन राईले कार्यालयको उद्घाटन गर्ने तय भएको छ ।