तेह्रथुम / डिभिजन वन कार्यालयमा सात महिना देखि पाल्दै आएको लोपन्मुख बन्य जन्तु ध्याँसे चितुवा सोमबार जंगलमा छाडिएको छ ।
म्याङ्लुङमा रहेको ठूलो सामुदायिक वनमा स्थानीयवासीले बच्चामा फेला पारी वन कार्यालयमा बुझाएका थिए । हाल आएर चितुवा ठूलो भई खान दिनै समस्या भएको, मानिसलाई नै झम्टन थालेकाले जंगलमा छाडिएको हो । चितुवा म्याङलुङमा रहेको गडी जंगलमा छाडिएको सहायक वन अधिकृत श्रीनारायण साहले बताए ।
ध्वाँसे चितुवा नेपालमा पाइने विरालो प्रजातिको दुर्लभ जनावर भएकाले यसको संरक्षण गर्नुपर्ने भए पनि लामो समयसम्म यसको पालन पोषण गर्न समस्या भएको अधिकृत साहको भनाई छ । यो चितुवा हेर्ने दैनिक ५० जना भन्दा बढी आउने गरेका थिए ।
जलवायु परिवर्तन र वासस्थानको अभावका कारण यो प्रजाती लोप हुन थालेको छ । विश्वमा यसको जनसंख्या करिव १० हजार रहेको र दिन प्रतिदिन यो वन्यजन्तु घट्दो अवस्थामा रहेको वन कार्यालयले जनाएको छ ।