दमक/ चुरेक्षेत्रको अतिक्रमणसँगै कुवा र धारामा पानी सुक्न थालेपछि इलामको चुलाचुली गाउँपालिकामा खानेपानीको समस्या भएको छ ।
६ सय घरपरिवार बासोबास गर्ने चुलाचुली वडानम्बर ५ का बासिन्दाले एक गाग्री पानी लिन घण्टौं धाउनु पर्ने बाध्यता छ । दक्षिणी इलामको चुरे क्षेत्र चुलाचुली गाउँपालिका वडा नं. ५ की कमला तिरुवाको गाउँ पोखरीडाँडा हो ।
यो गाउँबाट उनी पानी भर्नका लागि पञ्चमुखेश्वर मन्दिरनजिक रहेको धारा पग्छिन् । उनको गाउँ र पानीको धारा भएको स्थानको दूरी पैदल २ घण्टा लाग्छ । पानी लिन आउँदा र फर्कदा न्यूनतम् ५ घण्टाको समय लाग्छ । तिरुवा मात्र हैन, यस ठाउँका २ सय ५० हाराहारीका बासिन्दा घण्टौं धाएर खानेपानी उपभोग गर्न बाध्य छन् । चुरेक्षेत्रमा बसोबास गर्ने १० किलोमिटर वरिपरिका घरपरिवारले एउटै धाराबाट पानी बोक्ने गरेका छन् । बर्सेनी गाउँटोलमा रहेका कुवा तथा धारा सुक्न थालेपछि चुलाचुली वडा नं. ५ को आँपझोला, बुकुवा, पोखरीडाँडा, धिमलटार क्षेत्रका बासिन्दा पानीको समस्यामा पर्दै आएका छन् ।
गाउँटोलमा रहेका पानीका कुवा र ढुङ्गेधारा सुकेपछि ४ गाउँका बासिन्दाहरू आँपझोलाको पञ्चमुखेश्वर मन्दिरनजिक रहेको जरुवा पलाउने धाराबाट खानेपानीको प्रयोग गर्र्दै आएको स्थानीय जयकुमार राई बताउँछन् । एक गाग्री पानी ल्याउन एकबेला समय बिताउनु पर्छ । टाढाको धारा धाउनु पर्ने गाउँलेले सहजताका लागि साइकलको समेत प्रयोग गर्दै आएका छन् । पञ्चमुखेश्वर देवीधाराबाट आँपझोला, बुकुवा, पोखरीडाँडा र धिमलटारका बासिन्दालाई घरमा पानी पु¥याउन १ देखि ३ घण्टासम्म समय लाग्ने गरेको छ । चुरेको वन तीव्र फँडानीसँगैको भूक्षयले मुहान पुरिँदा चुरेबासीले बर्सेनी खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानीको समस्या हट्ला कि भन्ने आशामा वर्षौंदेखि बसोबास गर्र्दै आएका चुलाचुलीक्षेत्रका बासिन्दा थप समस्यामा पर्न थालेका छन् ।
करिब ६ सय घरपरिवार बासोबास गर्ने चुलाचुली–५ का ५ वटा मुहानमध्ये अहिले पञ्चमुखेश्वर मन्दिरक्षेत्रको धाराबाहेक अन्य विकल्प नरहेको गाउँलेले बताएका छन् । यस ठाउँमा पानीको मुहान पहिचान गरी संरक्षण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले गाउँपालिकाले खानेपानी, सिंचाइ र सरसफाइसम्बन्धी नीति नै ल्याएर काम गरिरहेको बताए । गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानमार्फत् सबै नागरिकलाई पर्याप्त स्वच्छ पिउने पानी उपलब्ध गराउने कार्यमा अग्रसर रहने अध्यक्ष राईले बताए । ब्लाष्टसँगको कुराकानीमा उनले पानी वितरण प्रणालीलाई व्यवस्थित गर्ने बताए । ट्युवेलमार्फत् तानिएको जमिनमुनिको पानीलाई आर्सेनिकमुक्त बनाउन सम्बन्धित निकायमा पहल भइरहेको बताए । वडा नं. १ देखि ५ सम्मका माथिल्लो चुरेक्षेत्र आसपासका सुख्खाग्रस्त स्थानहरूमा भूमिगत सिंचाइ आयोजना सञ्चालन गर्न सम्बन्धित निकायमार्फत् पहल भइरहेको समेत अध्यक्ष राईले बताए ।