धरान/ भारतको छत्तीसगढस्थित दन्तेवाडामा माओवादीले गरेको आक्रमणमा परी भारतीय जनता पार्टी (भाजपा) का एक विधायकसहित पाँचजना मारिएका छन् ।

माओवादीको आईईडी ब्लाष्टमा परी विधायक भीमा मण्डावी चढेको गाडीमा आक्रमण गर्दा मण्डावीसहित पाँचको मृत्यु भएको हो । जसमा चालकसहित तीनजना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।

यो घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् निन्दा गरेका छन् । उनले शहीद परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले शहीदको बलिदान खेर नजाने पनि उल्लेख गरेका छन् ।

मण्डावी चढेको बुलेटप्रुफ गाडी पूर्णरूपमा ध्वस्त भएको छ । दन्तेवाडामा अप्रिल ११ अर्थात् २ दिनपछि नै लोकसभाको पहिलो चरणको चुनाव हुँदै छ । मङ्गलबारसम्म चुनाव प्रचार–प्रसार गर्ने समय रहेको थियो । त्यही क्रममा मण्डावी चुनावी प्रचारमा होमिएका थिए ।

सन् २०१३ मे २५ मा पनि नक्सलवादीको हमलाका कारण कङ्ग्रेसका नेता विद्याचरण शुक्लासहित २५ जनाको हत्या भएको थियो । सन् २०१० अप्रिल ६ का दिन पनि दन्तेवाडाको जङ्गल क्षेत्रमा सिआरपीका ७५ जवानको हत्या हुने गरी आक्रमण गरिएको थियो ।