धरान / संघीय समाजवादी युवा फोरमका प्रदेश नं १ सह संयोजक पुरन राई दुर्घटना परेका छन् । हिजो सोमबार साँझ मोटरसाइकलमा धरानबाट इलाम घर फर्कदै गरेका राई राती करिब ८ बजेतिर दमक ४ स्थित कृष्ण मन्दिर नजिक दुर्घटनामा परी उनको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनी मोटरसाइकलमा पछाडि सवार थिए ।
राई सवार को ३० प ७७०० नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जादै थिए । उनीहरु सवार मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकलसँग जुधेको थियो । अर्का मोटरसाईकलमा सवार समिर धिमाल र सुजन धिमाल पनि समान्य घाइते छन् ।
यलम्बर सालिक निर्माण समिति चुलाचुली इलामका अध्यक्ष समेत रहेका राई धरानमा जारी किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनमा भाग लिएर घर फर्कदैं गरेका थिए । उनी यायोक्खाको आजिवन सदस्य रहेको बताइएको छ ।
घट्नामा युवा फोरमका प्रदेश नं १ संयोजक रमेश तुम्रोक पनि घाइते भएका छन् । उनको विराटनगरस्थित नोबल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।