धरान / एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थलसम्म प्रहरी पुगेका छन् । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले चलाएका थिए । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोला एरियामा दुर्घटना भएको खबरसँगै प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका छन् । बुधबार तीन बजेका लागि प्रधानमन्त्रीले आाकस्मिक बैठक बोलाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले जानकारी दिए । अहिले मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ प्रवेश गरिरहेका छन् ।