धनकुटा/ जिल्लाको पाख्रीबास नगरपालिका वडानम्बर ५ अन्तर्गत घोर्लीखर्क क्षेत्रमा रहेका विभिन्न सामुदायिक वनका पदधिकारीहरूको मिलेमतोमा सखुवाको रुख कटान गरिएको विषयमा सव–डिभिजन वन कार्यालय पाख्रीबासले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।
सव–डिभिजन वन कार्यालय पाख्रीबासका इञ्चार्ज ललितकुमार यादवले सखुवाको रुख काटिएको विषयमा सामुदायिक वनका उपभोक्ताहरू तथा स्थानीयले कार्यालयमा आई गुनासो गरेपश्चात् स्थलगत अनुगमनको क्रममा रुख काटेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाएको बताए । सव–डिभिजनले पाख्रीबास–५ घोर्लीखर्कको जल्किनी सामुदायिक वन, फावा खोला सामुदायिक वन र कालीदहलगायत सामुदायिक वनका दर्जनबढी सखुवाका रुख काटिएको भन्ने लिखित उजुरी परेपछि अनुगमन गरिएको थियो ।
सव–डिभिजन वन कार्यालयले स्थलगत रूपमा वन प्राविधिकसहित अनुगमन गर्दा ती सामुदायिक वनमा सखुवाका दर्जन बढी रुख काटेको भेटिएको इञ्चार्ज यादवले ब्लाष्टलाई बताए । अझै पनि कति रुख काटिए भन्ने एकिन नभएकाले थप अनुसन्धानको क्रममा कार्यालयले ती सामुदायिक वनहरूलाई रुख काटिएको जनगुनासो आएकाले कसरी सखुवाको रुख काटिएको हो, १० दिनभित्र लिखित जवाफ दिन परिपत्र गरिएको इञ्चार्ज यादवले बताए ।
सामुदायिक वनका पदाधिकारीहरूले आफूखुशी ढङ्गले उपभोक्ताहरूलाई जानकार नै नदिई रुख काटेकोले कार्यालयको तर्फबाट छानबिन हुने उनले बताए । कार्यालयको तर्फबाट फावा खोला सामुदायिक वनका अध्यक्ष एवम् ग्रामीण सामाजिक मावि व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठलगायतलाई १० दिने अल्टिमेटमसहित रुख काटिएको विषयमा जवाफ मागिएको छ ।
यता जल्किनी सामुदायिक वनमा भने फावाली तामाङहरूले परापूर्वकालदेखि दाहसंस्कारस्थलको रूपमा प्रयोग गर्दै आएकाले आ.व.०७५/०७६ देखि उक्त वनलाई धार्मिक वनको रूपमा दर्ता गर्ने सहमति भएको छ । सामुदायिक वनको रुख काटिएको विषयमा ब्लाष्टले फागुन ३ गते समाचार लेखेपछि जल्किनी सामुदायिक वनमा बसेको उपभोक्ता, सव–डिभिजन कार्यालय पाख्रीबासका इञ्चार्ज यादव, वन प्राविधिकहरू र जल्किनी सामुदायिक वनका पदाधिकारीहरूबीच भएको बृहत् छलफलपछि आगामी वर्षको कार्ययोजनामा धार्मिक वन दर्ताको प्रक्रिया अघि बढाउने सहमति सर्वपक्षीयरूपमा भएको बताइएको छ ।
जल्किनी सामुदायिक वनमा भएको सर्वपक्षीय भेलामा पावाखोला सामुदायिक वनका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष गोपाल थापालाई बोलाइए पनि भेलामा सहभागी नभएको इञ्चार्ज यादवले बताए । जल्किनी सामुदायिक वनका उपभोक्ता एवम् सागर व्यवस्थापन समितिका सदस्य कृष्ण तामाङले वडा नं.५ का वडाध्यक्ष गोपाल थापा र देवेन्द्र श्रेष्ठको मिलेमतोमा सखुवा काटिएको दाबी गरेका छन् ।
सो क्षेत्रको विभिन्न सामुदायिक वनहरूमा सखुवाको रुख काट्ने मिलेमतोमा वडाध्यक्ष गोपाल थापाको समेत संलग्नता रहेको हुन सक्ने आशङ्का गरिएको छ । रुख काट्ने क्रममा जल्किनी लगायत अन्य सामुदायिक वनका पदाधिकारी र उपभोक्ताबीचको विवादको कारण घटना डिभिजन वन कार्यालय धनकुटासम्म आइपुगेकाले आवश्यक कारबाहीको प्रक्रिया अघि बढिरहेको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामचन्द्र कँडेलले बताए ।
































