भोजपुर/ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत अलैंची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
 
अलैंची खेतीतर्फ यहाँका कृषकहरू आर्कषित भइरहेका बेला परियोजनाले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । अलैंची जोन कार्यक्रममा जिल्लाको ६ स्थानीय तहका ३० वटा वडाका ९८ कृषक समूह तथा कृषि फार्म आबद्ध रहेका छन् । अलैंची खेतीका लागि ३८ समूहले योजना माग गरेका छन् । अलैंची कृषकका समस्या समाधान गर्न सहयोग गर्दै कार्यक्रमलाई किसान लक्षित बनाइएको अलैंची जोन परियोजना कार्यान्वय इकाइ भोजपुरका प्राविधिक सहायक खिरप्रसाद राईले बताए ।
 
राईका अनुसार विगतमा अलैंची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर प्रभावकारी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिएको छ । परियोजनाले कृषकको घरघरमा पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । कार्यक्रम लागू भएको क्षेत्रका कृषक समूहलाई परियोजनाले साना सिंचाइमा ८५ प्रतिशत, मेशिनरी तथा अलैंची प्रशोधन केन्द्र निर्माणमा ५० प्रतिशत र भट्टी निर्माणका लागि ८५ प्रतिशतसम्म अनुदान दिएको छ ।
 
कार्यक्रम लागू भएपछि खुसी हुँदै आम्चोक गाउँपालिका–२ यूँका अलैची कृषक गोपाल खड्काले भने, ‘हामीले धेरै वर्षअघिदेखि अलैंची खेती गर्दै आएका थियाैं, पछिल्लो समय यो कार्यक्रम सञ्चालनमा आएपछि हामीलाई धेरै सहज भएको छ । अझ सिंचाइको व्यवस्था र अलैंचीमा लाग्ने रोगको निदान गर्ने तालिमहरू लिन पाए धेरै सहयोग पुग्ने थियो ।’ आम्चोक गाउपालिका–३ दिसङ्लाका अर्का कृषक भीमप्रसाद राईले कार्यक्रम सञ्चालनमा आएपछि धेरै कृषकहरू अलैची खेतीतर्फ लागेको बताए । पछिल्लो समय अलैंचीमा लाग्ने रोग र घट्दो मूल्य शृङ्खलाका कारण निराश बनेका जिल्लाका अलैंची कृषकलाई अलैची जोन कार्यक्रम लागू भएसँगै केही राहत मिलेको छ । 
 
कालो सुनको उपनामले चिनिने अलैंची खेती जिल्लामा हाल ६ सय ५० हेक्टर क्षेत्रफल जग्गामा विस्तार गरिएको छ । जिल्लामा अझै एक हजार हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने अलैंची जोन कार्यालय भोजपुरले जनाएको छ । हाल अलैंची जोन कार्यक्रम भोजपुर नगरपालिकाको वडा नम्बर १ र २ हेलौछा , ३ सिद्धेश्वर, ४ गुप्तेश्वर, ५ बोखिम, ८ पाखरे, ९ काफले ,१० भैसीपङ्खा र ११ आम्तेकमा लागू भएको छ । षडानन्द नगरपालिका अन्तर्गत वडा नम्बर ९, १०, र १३ परेका छन् ।
 
टेम्के मैयु“ गाउँपालिकाको वडा नम्बर ६ वाहेक ८ वटा वडामा लागू भएको छ । यस्तै रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ कार्यक्रम लागू गरिएको छ । जिल्लाको दक्षिणी आम्चोक गाउँपालिकाको वडा नम्बर १ वासिङ , २ यूँ , ३ थिदिङ्खा र ४ नम्बर वडामा लागू भएको छ । अरुण गाउँपालिकामा भने वडा नम्बर २ मा कार्यक्रम लागू भएको छ ।