इटहरी/ केही सरकारी कार्यालयमा पैसा लिएर आफै काम गरिदिनेबाट अधिकांश सेवाग्राहीले गेटबाटै हैरानी व्यहोर्नु परेको सेवाग्राहीहरूले गुनासो गर्छन् ।
नपढेका सेवाग्राहीलाई सघाउ पुर्याउने भन्दै लेखापढी गर्ने व्यक्तिहरू कार्यालयअगाडि मनपरी गरिरहेको रामधुनी नगरपालिकाका स्थानीयले गुनासो गरेका हुन् । नगरपालिकाअगाडि न्यायिक समितिमा उजुरी गर्न पुग्नेहरू लेखापढी व्यवसायीबाट ठगिनु परेको उनीहरूको गुनासो छ ।
रामधुनी नगरपालिको न्यायिक समितिमा न्याय माग्न आउनेहरूसँग लेखनदासहरूले मनोमानी रकम लिने गरेको पाइएको छ । न्याय माग्दै निवेदन लेख्न आउनेहरूसँग नगरपालिकाबाहिर बस्ने लेखनदासहरूले मनोमानी रकम लिएको पाइएको हो । सामान्य ठाडो निवेदनदेखि फिराद पत्र लेखेकै १ हजारदेखि ३ हजारसम्म लिने गरेको पाइएको छ ।
अन्यायमा परेर आएकाहरूसँग यसरी मनोमानी रकम लिँदा आफूहरू झन् पीडामा परेको लेखनदासबाट पीडितहरूले बताए । रामधुनी नगरपालिका–४ का रोहितकुमार सुब्बाले न्यायिक समितिलाई दिने ठाडो निवेदन लेख्न लगाउँदा ९ सय रुपैयाँ तिरेको गुनासो गरे ।
शुरुमा १ हजार मागिएको थियो तर अन्तिममा १ सय घटेर लेखनदास निवेदन लेख्न तयार भएको उनले बताए । ‘भनेजति पैसा नदिए निवेदन कसैले लेख्न मान्दैनन्’ –उनले भने । यसरी सामान्य लेखापढी गर्नेले मनपरी पैसा लिनु अवैध भएको भन्दै कारबाहीको मागसमेत गरे ।
रामधुनी नगरपालिका–९ की सीता चौधरीले पनि आफूले एउटा फिराद पत्र लेखाएको १९ सय तिरेको बताइन् । घरायसी विवाद लिएर नगरपालिका आएकी चौधरीलाई लेखनदासले दुईहजार मागेका थिए । पहिलो दिन पैसा नपुगेर फर्किएको बताउँदै दोस्रो दिन ऋण गरेर निवेदन लेख्न लगाएको उनी बताउँछिन् । नगरपालिका गेटनजिकै बस्ने लेखनदासहरूले महँगो शुल्क लिने गरेपछि न्यायिक समितिमा निवेदन दिन आउनेहरूको संख्या घट्न थालेको छ ।
यता खेलापढी व्यवसायी झनक कार्कीले उजुरी लेख्न गाह्रो हुने भएकाले एक हजार लिने गरेको हाकाहाकी बताए । उनले लेख्ने विषय गाह्रो भएको कारण पैसा लिने गरेको स्वीकार गरे । आफूहरूको कामै यही भएको भन्दै काम गरेर पैसा लिएको उनी बताउँछन् । यता नगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिका संयोजक सुनिताकुमारी साहले मनोमानी शुल्क लिने गरेको विषयमा जानकारी भएको बताइन् ।
‘धेरैले गुनासो गर्नुभएको छ, हामीले एक पटक लेखनदासहरूलाई शुल्क कम लिनू भनेर सम्झाएका पनि थियौं’ –उनले भनिन् । चौधरीले न्यायिक समितिमा पर्ने निवेदनको लेखाइ र ढाँचा अलग हुने भएकाले पनि लेखनदासले बढी पैसा लिएको हुनसक्ने भन्दै उल्टो बचाउ गरिन् । निवेदन लेखेको शुल्क बढी लिएको विषयमा नगरपालिकाले अनुगमन गर्ने उपमेयर चौधरीले बताइन् ।
































