विराटनगर/ निर्माण सामग्री बोकेर तीव्र गतिमा गुड्ने ‘टिपर’ दुर्घटना बढेपछि मोरङमा ट्राफिक प्रहरीले चालकको अभिलेख राखेर नियमन गरी उनीहरूलाई प्रशिक्षण दिन थालेको छ । टिपरका कारण प्रदेश–१ का १४ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी दुर्घटना हुन थालेपछि टिपर चालकलाई नियमन गर्न जिल्लामा प्रहरीले नयाँ अभियानको शुरुवात गरेको हो । 
 
जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रूपमा सडकमा टिपरका कारण हुने दुर्घटना न्यूनीकरणका लागि बुधबारबाट टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम शुरु भएको छ । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगङ्गा गाउँपालिकाको नेमुवामा यो कार्यक्रमको आरम्भ भयो । प्रत्येक दिन टिपर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट प्रशिक्षण लिनु पर्नेछ । कार्यक्रममा सहभागी भएर पनि चालकले सडकमा ट्राफिक नियमको उल्लङ्घन गरेर तीव्र गतिमा टिपर कुदाएमा कारबाहीको दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनले टिपरका कारण दुर्घटना बढिरहेको जनगुनासो आउन थालेपछि टिपर चालकलाई नियमन गर्नका लागि नयाँ अभियानको शुरुवात गरिएको जानकारी दिए ।
 
‘टिपरका कारण दिनप्रतिदिन दुर्घटना बढिरहँदा जनमानसमा ठूलो चिन्ता छाएको छ,’ मोरङ प्रहरी प्रमुख केसीले भने, ‘टिपरले जनतामा उतारेको डरयुक्त भावना र वातावरणको अन्त्य गर्न चालकहरुलाई आवश्यक प्रशिक्षण दिइने छ ।’ एसपी केसीले सडकमा गुड्ने टिपरका हकमा धेरै प्रश्नहरु उब्जन थालेपछि टिपरसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नु परेको बताए । 
 
कार्यक्रम सञ्चालन गर्न नेमुवामा ट्राफिक प्रहरीसहितको छुट्टै एउटा युनिट खडा गरिएको छ । परिचालित ट्राफिक प्रहरीले टिपर कुदाउन चालक योग्य छन् कि छैनन्, उनीहरूसँग लाइसेन्स छ कि छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने बारेमा अभिलेख तयार पारिनेछ । ट्राफिक प्रहरीले चालकलाई टिपरका कारण भइरहेका दुर्घटना, दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीव्र गतिका कारण हुने दुर्घटना लगायतका बारेमा सचेत गराउँदै चालकको अवस्था र सडकमा कुदाइने टिपर कन्डिसनमा भए÷नभएका बारेमा चेकजाँच समेत गरिनेछ । टिपरको अवस्था परीक्षणका लागि छुट्टै प्राविधिक टोली परिचालन गरिएको छ । 
 
पूर्वाञ्चल टिपर व्यवसायी सङ्घका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताए । उनले टिपर चालकहरूलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसाबमा टिपर कुदाउन चालकहरूलाई आग्रह गरे । बूढीगङ्गा गाउँपालिका अध्यक्ष बालचन माझीले सडकमा गुडिरहेका टिपरको आतङ्क नियन्त्रण गर्न आवश्यक देखिएको अवस्थामा सञ्चालन गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए ।