विराटनगर/ १३ वर्षिया बालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जनालाई जिल्ला अदालत मोरङले जनही १७ वर्ष कैद सजाय सुनाएको छ ।
बलात्कारमा १५ वर्ष र सामूहिक बलात्कारमा थप २ वर्ष गरेर जनही १७ वर्षको कैद सजायको फैसला मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सुनाएको हो ।
अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का २२ वर्षिय मनोज राई र २३ वर्षिय राजकुमार माझीलाई अदालतले जनही १७/१७ वर्ष कैद सजायको अन्तिम फैसला गरेको हो ।
गत असोज ६ गते राति राई र माझीले पथरीशनिश्चरे –७ स्थित शिव पञ्चायत मन्दिरको चउरमा लगेर १३ वर्षिया बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।
साथीको जन्मोत्सव मनाउन भनेर घरबाट हिंडेकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन् । अदालतले फैसलाको प्रमाणीकरण बिहीबार गरेको हो ।
































