उर्लाबारी/ गरिबीका कारण घर परिवारको खर्च जुटाउन आफैंले सञ्चालन गरेको उद्योगले अहिले पहिचाहनसँगै दुई दर्जन महिलाहरूलाई सीप तथा रोजगार दिन थालेपछि निरू ढाका उद्योगकी सञ्चालिका निरू चौहान बास्कोटाको उचाई बढेको छ ।
 
दुई दशकअघि उनले जीविकोपार्जनका लागि सञ्चालन गरेको ढाका उद्योगलाई यतिबेला उत्पादन पु¥याउन हम्मेहम्मे पर्न थालेको छ । हातले नै उत्पादन गरेको कपडाजन्य वस्तुमा नया“ पुस्ताको आकर्षण बढ्न थालेपछि उनको उद्योगले उत्पादन गरेका नेपाली पोशाक नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकहरूबाट पनि माग हुन थालेपछि उत्पादन पु¥याउन कठिन हुन थालेको सञ्चालक निरूले बताएकी छन् ।
 
स्थानीय तहको निर्वाचन हुनु अघिसम्म विभिन्न सहकारी संस्थाहरू तथा अमेरिका, हङकङ, सिङ्गापुर, बेलायतलगायतका देशहरूमा बसोवास गर्ने नेपालीहरूले ढाकाका साडी, चौबन्दी, ढाका टोपी, पर्स, गलबन्दी, दौरा–सुरुवाल माग गर्दै आएका थिए । हाल स्थानीय तहमा निर्वाचित महिलाहरूले पनि औपचारिक कार्यक्रमका लागि ढाकाबाट उत्पादन गरेका साडी र चौबन्दी लगाउने प्रचलन आएपछि  मागबमोजिम सामान पु¥याउन निकै मुस्किल परेको निरू बताउँछिन् । 
 
पछिल्लो समयमा निरूको उद्योगले उर्लाबारी नगरपालिकामा १९ जना, बूढानिलकण्ठ नगरपालिकाका ३१ जना, जनकपुर उपमहानगरपालिकाका १५ जना महिला जनप्रतिनिधीहरूका लागि ढाकाको साडी र चौबन्दी सेट उपलब्ध गराई सकेको बताएकी छन्  । मुलुकका विभिन्न स्थानीय तहबाट पनि क्रमिक रूपमा साडी र चौबन्दीको माग आउने क्रम जारी रहेको उनी बताउँछिन् । 
 
हस्तकला घरेलु उद्योग भएका कारण नया“ प्रविधिबाट (मेसिन) उत्पादन गर्दा ढाकाको पहिचाहन गुम्ने भएर पनि निरूले  विशुद्ध हातको माध्यमबाट नै उत्पादन गर्दा  समयसँगै लागत बढ्ने भएको बताउँछिन् । ‘बजारमा व्यावसायिक प्रयोजनले मेसिनबाट ढाकाका कपडा उत्पादन गर्ने भएकाले हस्तकला व्यवसायीलाई सामान्य समस्या आइरहेको छ ।’ उनले गुनासो गरिन् ।
 
न्यूनतम पाँच हजारदेखि अधिकतम दशौँ हजारसम्मका साडीसेटलगायतका उत्पादन निर्यात् हुने गरेको बताउदै“ स्थानीय तहबाट समन्वय तथा सीपमुलक तालिम सबै वडामा दिनसके बेरोजगारीसँगै समृद्ध परिवार बनाउन सकिने निरूको अनुभव छ । त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने उनी बताउँछिन् । ‘म आफैंले पनि सङ्घर्ष गरेर यो अवस्थामा आइपुगेकी हुँ,’ निरुले भनिन्, ‘ गरिब तथा विपन्न समुदायका महिलाहरूलाई निःशुल्क तालिम दिएर रोजगारसमेत दिइरहेकी छु ।’
 
हाल निरूले दिएको तालिमबाट स्थानीय रिना धिमाल तथा स्वस्तिका धिमालले उनकै उद्योगमा रोजगार गरिरहेका छन् । रोजगारले घर खर्च चलेको उनीहरू बताउँछन् । २० लाखको लागतमा  सञ्चालन गरेको उद्योगले दुई दर्जन महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी प्रत्यक्ष रोजगार दिएको निरू बताउँछिन् । निरूले एक छोरा, छोरीसहित चार जनाको परिवारको व्यवस्थापन गरिरहेकी छन् ।
 
निरूले ढाका उत्पादन बिक्रीका लागि आफ्नै शोरुमसमेत् सञ्चालन गरेकी छन् । उनले सञ्चालन गरेको पसलमा महिला सदस्य, उद्यमीदेखि सङ्घीय सांसद्की उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समेत निरीक्षण गरी साडी लगायत खरिद गरेको सञ्चालिका निरूले बताएकी छन् ।