तेह्रथुम / आर्थिकरूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जिल्लामा धमाधम घर निर्माण भइरहेका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत जिल्लामा यही वर्ष ५० वटा घर निर्माण भइरहेका हुन् । जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर बनाउन जिल्लाका सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनौट गरी घरहरू निर्माण गरिरहेको छ ।

आफ्नो घर नभएर छाप्रो, टहरामा बन्दै आएका दलित परिवार सरकारले घर बनाई दिन थालेपछि खुसी भएका छन् । आफूले घर बनाउन नसकेर टहरामा रात बिताइरहेकी म्याङलुङ नगरपालिका पिप्लेकी सान्तिला नेपालीले बताइन् ।

घर निर्माणका लागि मन्त्रालयले पहिलो र दोस्रो किस्ताबापतको रकम उपलब्ध गराई सकेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । जनता आवासले आफूहरू घरमा बस्न पाउने अवस्था आएको तीलबहादुर भित्रिकोटीले बताए ।

भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि छनौट भएका परिवारले प्रति परिवार तीन लाख ५० हजार रुपैयाँ अनुदान पाउँने छन् ।

जसअन्तर्गत म्याङलुङ नगरपालिकाको पिप्ले दलित बस्तीका आठ घर, फेदाप गाउँपालिका जलजलको दलित बस्तीमा चार घर, आठराई गाउँपालिकाको छातेढुङ्गा माझी बस्तीमा दुई घर, छथर गाउँपालिका हमरजुङको दलित बस्तीमा नौ घर, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ निङ्लेखु टोलमा आठ घर र लालिगुरास नगरपालिका सोल्मामा १२ घर निर्माण भइरहेका छन् ।

जिल्लाका लागि मात्रै ५० परिवारका लागि एक करोड ७५ लाख रुपैयाँ आवश्यक पर्छ । चार जिल्लाका लागि झण्डै सात करोड रुपैयाँ आवश्यक पर्छ ।