इनरुवा/ इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले नितान्त आफ्नै पहलमा अपाङ्गता भएकाहबाट सुझाब संकलन थालेकी छिन् । बजेट अभावमा लक्षित कार्यक्रम सञ्चालन गर्न नसकेपनि उमप्रमुख पोखरेलले नगरभरका अगुवाहरुलाई डाकी अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी समाधानका उपाय अबलम्वन गर्न सुझाब सङ्कलन थालेकी हुन् ।

पहिलो चरणमा भेला डाकेकी उपप्रमुखले नगरका १० वटै वडाका अपाङ्गता भएका व्यक्तिका अगुवाहरुलाई भेला गरी झेल्दै आउनुपरेका समस्याका बारेमा जानकारी बटुलेकिछिन् । समाजमा अपाङ्गता भएका व्यक्तिहरुको स्थान र सेवासुविधा लगायतको अवस्था बारेमा बुझेर थप रणनीति तय गर्न सुझाव सङ्कलन कार्यक्रम गरिएको पोखरेलले बताइन् ।

भेलामा उठेका सवालका विषयमा कार्यपालिकामा प्रस्ताब लगेर गहन छलफल गरी निचोड निकालिने पोखरेलले बताइन् । अपाङ्गता नगर कार्य समिति इनरुवाले आयोजना गरेको भेलामा सहभागिहरुले अपाङ्गता भएकै कारण झैल्दै आउनु परेको समस्याका बारेमा अवगत गराएका थिए ।

अपाङ्गमैत्री भवन पूर्णतया कार्यान्वयनमा नआउनु, सेवासुविधा सवालमा प्राथमिकतामा नपारिनु र अपेहेलित भैरहनु परेको जस्ता गुनासो कार्यक्रमका सहभागि अपाङ्गता भएका व्यक्तिहरुले राखेका थिए ।

नगर कार्य समितिका अध्यक्ष शम्भु भट्राईले आफुहरुलाई विभेदमा पारिएको भन्दै आवश्यकता परे अपाङ्गता भएका व्यक्तिहरु सबै भेला गरी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । सहभागिहरुको गुनासो संकलन तथा सुझाब बुझेपछि अपाङ्गता भएकाहरुको हकअधिकारका सवालमा आफु कटिवद्ध भई लागिपर्ने उपप्रमुख पोखरेलले विश्वस्त पारिन् ।

पोखरेलले आफ्नो कार्यक्षेत्र र अधिकारमा पर्ने विषयमा आफ्नै पहलमा भएपनि सुझाव सङ्कलन सहितको काम थालि कार्यान्वयनमा ल्याउने बताएकी छिन् । कार्यक्रमकालागि कुनै बजेट उपलब्ध नहँदा भेलामा उपस्थित अपाङ्गता भएका व्यक्ति लगायत सरोकारवालाहरुलाई उपमेयर पोखरेलले व्यक्तिगत खर्चबाट चियानास्ता सहितको प्रवन्ध मिलाएकी थिइन् ।