विराटनगर/ आफुले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुन्दर सपना देखाएपछि फुसको घरमा बस्दै आएका मोरङको जहदा गाउँपालिका-१ धुनीबस्तीका नन्दकिशोर सरबरिया पक्की घर बनाउने रहर जाग्यो । आफुसँग पैसाँ नभएपछि ऋण लिएर उनले गाउँका अगुवा मानिएका दिलबहादुर गुरुङलाई ४० हजार रुपैयाँ थमाए ।
‘विराटनगर महानगरपालिका १८ मा सरकारकाले जनता आवस अन्तर्गत घर बनाइ रहेको मैले देखे,’ उनले भने, ‘केही पैसाँ बुझाएपछि पक्की घर बन्ने स्थानिय अगुवाको रुपमा मानिएका दिलबहादुर गुरुङले यस बस्तीका ३३ घर परिवारलाई सुनाए ।
हामीले पनि पक्की घरमा बस्न पाउने आशा पलाएपछि ऋण खोजेर गाउँका अगुवा दिलबहादुरलाई पैसाँ सुम्पिइम,’ उनले भने ।
गुरुङ्गलाई पैसाँ बुझाएको एक वर्ष पुरा भयो । गाउँकै गन्ने मान्ने गुरुङले पक्की घरको सपना देखाएपछि यस बस्तीका सुकुम्बासीले ऋणपान गरेर कसैले ४० त कसैले ४२ हजार रुपैयाँसम्म गुरुङलाइ बुझाए ।‘पैसाँ बुझाएको एक वर्ष बितिसक्दा पनि घर बनाउने कुनै छाटकाट नदेखिएपछि गुरुङ्गले ठगि गरेको अहिले आएर थाहा पाए,’ पीडित नन्दकिशोरले ब्लाष्टसँग भने ।
सरकारको लगानीमा घर निर्माण हुने र पक्की घरमा बस्न पाइने भन्दै गाउँकै अगुवाले देखाएको झुटो प्रलोभनमा पर्दा दक्षिणी सिमावर्तीय गाउँ जहदाका नन्दकिशोर मात्र गुरुङबाट ठगिएका एक्ला व्यक्ति भने होइन्, यहाँका ३३ घरपरिवार ठगिएका छन् ।
गुरुङले ३३ घर परिवारको ४० हजार प्रतिघर १३ लाख ३२ हजार रुपैयाँ लिएर फरार भएको बताइएको छ । ‘एक दिन अर्काको घरमा गएर बनिबुत्तो गरेन भने मुखमा माड समेत हाल्न पाइदैन,’ ठगिएकी अर्का पीडित राधादेवी कामतले भनिन्, ‘ऋण काटेर पक्की घरमा बस्ने सुन्दर सपना देखाएपछि विश्वास गरेर ४० हजार रुपैयाँ बुझाए ।अब त घर बन्न सुरु हुन्छ होला भन्ने लागेको थियो । अझै बनेन् । पैसाँ बुझाएपछि गुरुङ बेपत्ता भएपछि ठगिएको थाहा पाए,’ उनले भनिन् ।
जनता आवास अन्तर्गत मोरङका विभिन्न स्थानमा घर निर्माणको काम चलिरहेको छ । विराटनगर १८ स्थित फडानी टोलमा रहेको ऋषिदेव वस्तीमा पनि जनता आवास अन्तरगत घर निर्माणको काम भइरहेको छ ।
छेउछाउका गाउँमा घर निर्माण हुन थोलेपछि त्यस्तै घरको अपेक्षा गर्नेहरु जहदा १ धुनी बस्तीका ३३ परिवार ठगिएका हुन् । आफूले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुनेपछि फुसको घरमा बस्दै आएका स्थानीयले गुरुङलाई जनही ४० देखि ४२ हजार रुपैयाँ बुझाएका थिए ।
गुरुङलाई पैसा बुझाएको एक वर्ष वितेपनि घर नबनेपछि उनीहरुले आफु ठगिएको सार्वजनिक गरेका हुन् ।
गुरुङले ठगी गरेको पत्तो पाएपछि पीडितहरुले स्थानीय जनप्रतिनिधि गुहारेका थिए । जनप्रतिनिधिहरुको रोहबरमा गुरुङले पैसा फिर्ता दिने प्रतिबद्धता जनाएको भएपनि पालना गरेका छैनन् ।
यता जहदा गाउँपालिकाको प्रमुख कैलाश प्रसाद मण्डलले हाम्रो गाउँपाकिलामा कुनै पनि प्रकारको जनता आवस कार्यक्रम सुचारु नभएको प्रष्ट पारे । ‘अहिलेसम्म हाम्रो गाउँपालिकामा कुनै प्रकारको जनता आवस कार्यक्रम भएको छैन,’ उनले भने, ‘१ नम्बर वडाको विषयमा मैले केही थाहा छैन ।’ यस विषयमा आफु बुझने उनले बताए ।
जहदा १ का वडा अध्यक्ष प्रदिपचन्द यादवले गुरुङ्गलाई आफ्नो कार्यालयमा जिकाएर पैसाँ बुझाउने कबुल गराएको बताए । ‘एक साता अघि ३३ घर परिवार ठगिएको भन्दै मेरो कार्यालयमा आएका थिए,’ उनले भने, ‘पीडित र गुरुङ्गलाई राखी काजग गराएको छुँ ।
पुस महिना भित्र पैसा दिने सहमति भएको थियो । अहिले मेरो सम्र्पकमा गुरुङ आएको छैन ।’ यस विषयमा ब्लाष्टले गुरुङसँग बारम्बार फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
































