धरान । मिस पूर्वाञ्चलको नवौं संस्करण चलिरहेको छ । पुष १४ गते ग्राण्ड फाइलनमा सहभागी हुनुपूर्व आफ्ना प्रतिभाहरू देखाइरहेका छन् ।

यसक्रममा शनिबार मिस पूर्वाञ्चलका १४ सुन्दरीले ‘पेप्सी मिस ट्यालेन्ट’ मा बलात्कारप्रति तीव्र आक्रोस पोखे । सरकारलाई उनीहरूले ‘कण्डम होइन, सेक्स टोय’ वितरण गर्नका लागि सुझाव दिए । १४ सुन्दरी स्पर्धीमध्येकी एक रुसाली केसीले सरकार यहा एचआइभी बढिरहेको छैन, यहा बलात्कार बढिरहेको छ, त्यसैले कण्डम हैन यहा सेक्स टोय वितरण गर् भन्दै व्यङ्ग्य गरिन् ।

मिस उर्लाबारीसमेत रहेकी केसीले ट्यान्लेन्टमा मन्तव्य दिदै निर्मला बलात्कारीहरूलाई यस्तो कारबाही गर कि भोली हुने अन्य बलात्कारका आरोपीहरू पनि कामुन् भन्दै सुझाव दिइन् । उनले छोरी भन्ने आफ्नै बुबादेखि, परसम्म छाडिदिउ भन्ने दाजुदेखि, भाञ्जी के छ भन्दै सुम्सुम्याउने मामादेखि पनि डर रहेको बताइन् ।

उनीझैं अर्की स्पर्धी सस्तिका बिसङ्खेले पनि बलात्कारप्रति नै तिखो व्यङ्ग्य गरिन् । उनले छोरीहरू दिनानुदिन बलात्कृत बन्दै गएको र समाजमा छोरी भएर जीउनुको अर्थ नहरेको प्रतिक्रिया दिइन् । त्यसक्रममा सलिमा राजवंशीले नाटकमार्फत् नै बलात्कृत बनेको सन्देश प्रवाह गरिन् । उनले नाटकमार्फत् कसरी बलात्कृत बनिन्छ भन्ने कुरा निर्णायक तथा उपस्थित सामू प्रस्तुत गरेकी थिइन् ।

अन्य स्पर्धीले नृत्य तथा गायन गरे । १४ स्पर्धीमध्ये ३ जनाले बलात्कारप्रति कटाक्ष गरे । निर्णायक गायक डिल्ली फोम्बो, नाच सरगम संगीतका संगीत गुरु विनायक राई, हाम्रो डान्स सेन्टरकी निका मोक्तान, रियो छमछमी तेस्रो सिजनकी फस्ट रनरअप मनिता राई र नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्लेले उनीहरूको ट्यालेन्टको अवलोकन गर्दै निर्णय गरे ।

धरान–९ स्थित फ्रेण्डस् गार्डेनमा कार्यक्रम आयोजना भएको थियो । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा जारी नवौं संस्करणमा पूर्वका १४ युवतीहरू अन्तिम स्पर्धामा छन् । उनीहरू अहिले विभिन्न तालिम तथा सामाजिक कार्यमा व्यस्त छन् ।