काठमाडौं / पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो ।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित भएको पारिवारिकश्रोतले जनाएको छ ।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइए राखिएको थियो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसमा क्रियाशिल गिरी त्यसपछि खुङ्खारपञ्चका रुपमा चिनिदैआएका थिए । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाएका थिए । राजा वीरेन्द्रले नकाम गरेको भन्दै केही समयका लागि उनी श्रीलंका गएर बसेका थिए ।
०५९ सालमा ज्ञानेन्द्रको सत्ता हातमा आए पछि पुनः नेपाल फर्केका थिए । ज्ञानेन्द्रले उनलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएका थिए ।
गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने बताइएको छ । उनको अन्तिम संस्कारका लागि राष्ट्रिय सम्मान दिने नदिने विषयमा सरकारले केही निर्णय गरेको छैन् ।
































