इटहरी/ प्रदेश एकमा टिपर आतङ्क रोक्न ट्राफिक प्रहरीले आइतबारबाट अभियान शुरु गरेको छ ।

टिपरको कारण सडक दुर्घटना बढेपछि प्रदेश नम्बर एकका टिपर सञ्चालनमा कडाइ गरेको हो । मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवम् ट्राफिक आवागमनलाई केन्द्रित गरी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म टिपर सञ्चालनमा पूर्णरूपमा रोक लगाएको हो ।

निमार्ण समाग्री बोक्ने यी सवारीका कारण दुर्घटना बढेको प्रहरीको निश्कर्ष छ । ट्राफिक प्रहरीले रोक लागएपछि आइतबार बन्दका समयमा छिटफुट मात्रै टिपर सडकमा गुडेका थिए । टिपर चालकलाई तोकिएको समयमा सञ्चालन नर्गनका लागि ट्राफिक प्रहरीहरूले आग्रह गरेका थिए ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको यो निर्णयसँगै पुष १ गतेदेखि निषेध गरिएको समय सीमाभित्र ट्रिपर एक नम्बर प्रदेशको कोशी राजमार्ग, पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकमा समेत सञ्चालनमा रोकिएको छ ।

प्रदेश एककै भीडभाड हुने शहरहरू विराटनगर, इटहरी, धरान, इनरुवा, धनक’टा, दमक, बिर्तामोडलगायत ग्रामीण तथा सहरी सडकमा निषेधित समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।