पथरीशनिश्चरे/जाडोको समयमा विपन्न समुदायमा न्यानो कपडाको समस्या परिरहेको अवस्थामा मोरङको पथरीशनिश्चरे नगरका २ ठाउँमा २ वटा संस्थाले न्यानो कपडा वितरण गरेको छ ।
नगरको इन्द्रकमल बास्कोटा प्रतिष्ठानले वडा नम्वर ३ मा रहेको जनता माविका अति विपन्न ५० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा विद्यार्थीलाई विद्यालय आउन सहज होस भनेर २४ हजार मूल्य बराबरका ५० थान स्वीटर वितरण गरिएको प्रतिष्ठानका सल्लाहकार युवराज बास्कोटाले जनाए । विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको प्रतिष्ठानले न्यानो कपडा वितरणको कार्यक्रमलाई निरन्तरता दिने बास्कोटाले बताए ।
सोही कार्यक्रममा प्रतिष्ठानले विद्यालयका लागि १ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेर विद्यालयलाई चेक हस्तान्तरण गरिएको छ । विद्यालयको सहकार्यमा २५ विद्यार्थीलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि घोषणा भएको छ । सम्बन्धित सरोकारवाला पक्षसँगको सहकार्यमा सहआयोजकको हैसियतमा २५ जना अति निम्न विद्यार्थीलाई प्रतिष्ठानले १ वर्षसम्म दिउँसोको खाजा खुवाउने भएको हो ।
पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस किसिमका कार्यक्रमले विद्यालय जान नसकेका बालबालिकालाई विद्यालयसम्म पुर्याउन सहयोग पुग्ने बताइन् । सोही वडाका वडाअध्यक्ष डम्बर चेम्जोङ, विद्यालयका प्रधानाध्यापक पदम सापकोटा र प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखे ।
समाजसेवामा लागि परिरहेका बास्कोटा दम्पत्ति इन्द्रमाया र कमलप्रसादको सम्मानमा ०७३ मा उनका आफन्तहरूले स्थापना गरेको प्रतिष्ठानले एउटा एम्वुलेन्स सञ्चालन गरिरहेको र अन्य सामाजिक गतिविधि गरिरहेको छ । कार्यक्रममा स्वयम् कमलप्रसादसमेत सहभागी भएर स्वीटर वितरण गरेका थिए । प्रतिष्ठानले इन्द्रकमलका समकालीन समाजसेवीहरूका विषयमा दर्पण प्रकाशितसमेत गर्ने योजना बनाएको उल्लेख छ ।
मुसहर बस्तीमा कम्बल वितरणः
उता, नगरको नडा नम्वर ६ का वडाध्यक्ष जयबहादुर तामाङले व्यवसायी साथीहरूको सहयोगमा आफ्नो वडामा भएका अति विपन्न ४० परिवार ऋषिदेव (मुसहर) समुदायलाई ४० थान कम्बल वितरण गरेका छन् । सोही बस्तीमा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले कम्बल वितरण गरेका थिए । तामाङको अभियानमा धरानका मनोज अग्रवाल नगद २० हजारको कम्बल प्रदान गरेका थिए भने धरानका व्यवसायी तथा विपस्यना योग ध्यानका गुरू कमल गोयलले धरानका घर-घरमा गएर पुराना तथा प्रयोग गर्न मिल्ने लुगा संकलन गरी सहयोग गरेका छन् ।
यस अघि पनि अध्यक्ष तामाङले वडा र नगरको सहकार्यमा सोलार बत्ती, शौर्य चुलो, शैक्षिक सामाग्री वितरण कार्यक्रम अघि बढाएका थिए ।