ताप्लेजुङ/जिल्लाको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका २० वटा योजना छनौट भएका छन् ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरुको परामर्शमा योजना छनोट गरेका हुन् । १ मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा ४ करोड रुपैयाँको उक्त योजना बाँडफाड गरिएको हो । फुङलिङ नगरपालिकामा ६ वटा योजना छन् ।

सिदिङ्मा र फक्ताङलुङ गाउँपालिकामा भने १/१ वटा योजना छन् । सिरिजंघा, पाथीभरा याङवरक, आठराई-त्रिवेणी, मेरिङदेन, मैवाखोला र मिक्वाखोलामा भने २/२ वटा योजना छनौटमा परेका छन् । अधिकाँश योजना सडक निर्माण तथा स्तरोन्नती र विद्यालयको खेल मैदान निर्माणका छन् ।

छनौटमा परेका योजनामा सबैभन्दा बढि ५० लाख माथिका २ वटा योजना छन् ।

सबैभन्दा कम १० लाखका दरले ७ वटा योजना रहेका प्रतिनिधि सभा सांसद योगेशकुमार भट्टराईका स्वकीय सचिव प्रेम गुँरागाईले जानकारी दिए । सिदिङमा गाउँपालिकास्थित काबेली–मिश्रटार–बरडाँडा–सिहंदेवी–साब्लाखु भन्ज्याङ सडक स्तरोन्नती गर्न ५० लाख विनियोजन गरिएको छ । फक्ताङलुङ गाउँपालिकास्थित लिङ्खिम–सिवा–थिवा–तापेथोक जोड्ने सडक स्तरोन्नतीका लागि पनि ५० लाख विनियोजन भएको छ ।

सिरिजंघा गाउँपालिकास्थित तेल्लोक मावि रंगशाला निर्माण २५ लाख र सिनाम आधारभुत विद्यालय खेल मैदान निर्माणका लागि १० लाख छुट्याइएको छ ।

पाथीभरा याङवरक गाउँपालिकास्थित थुम्बेदिनको साप्लेखोप खेल मैदान निर्माण गर्न २५ लाख र हरिन्दे विद्यालयदेखि कालिका माविसम्म सडक निर्माणका लागि १५ लाख रहेको छ । आठराई त्रिवेणी गाउँपालिकामा चुवाखोला संगमचोक देउराली सडक स्तरोन्नती २५ लाख र परमसिंह मावि खेल मैदान निर्माणका लागि १५ लाख रहेको छ ।

मेरिङदेन गाउँपालिकाको लंवा खोला जल विद्युतको कुलो निर्माण गर्न २५ लाख र थिङ्लाबु थुङथाप फाकुम्बा जोड्ने सडक स्तरोन्नती गर्न १५ लाख विनियोजन भएको छ ।

मैवाखोला गाउँपालिकास्थित टिमुरे खोला कल्भर्ट निर्माण २५ लाख र जनकल्याण आधारभुत विद्यालय तेल्लाबुङ खेल मैदान स्तरोन्नतीका लागि १० लाख छुट्याइएको छ । मिक्वाखोला गाउँपालिकास्थित थलङ-साँवा-फुङ्फुङे झरना जोड्ने सडकका लागि २५ लाख र मोती मावि खोक्लिङ खेल मैदान निर्माण गर्न १० लाख छुट्याइएको छ ।

यता फुङलिङ नगरपालिकाभित्र चिच्चोरा खोल्सा तटबन्धका लागि १८ लाख,हर्राबोटे सिँचाई योजना १० लाख,सिम्ले डाढगाउँ खेल मैदान निर्माण १० लाख, छत्रे धारा वरवोटे खानेपानी टेंकी निर्माण १० लाख, जनता मावि हाङदेवा विद्यालय भवन निर्माण १० लाख र फुरुम्बोको बाझेनी खानेपानी योजनाका लागि १३ लाख विनियोजन गरिएको छ ।

४ लाख भने कार्य्विधि अनुसारको प्रशासनिक खर्च विनियोजन गरिएको छ । प्रतिनिधि सांसद योगेश कुमार भट्टराईको संयोजकत्वमा बसेको बैठकले उक्त योजनालाई अन्तिम रुप दिएको हो । कार्तिक १६ गते नगरपालिका तथा गाउँपालिका प्रमूखसँग योजनाका बारेमा छलफल भएको थियो । मौखिक छलफल गरिएको योजनालाई लिखित रुपमा नगर तथा गाउँपालिका प्रमूखले उपलब्ध गराएको थियो ।