इटहरी/इटहरीमा लाग्दै आएको साप्ताहिक हाट बन्द गराउने/नगराउने विषयमा व्यापारीहरूबीच नै मतभेद भएको छ ।

बिहीबार या शनिबार बजार बन्द गर्ने विषयमा व्यापारीहरूबीच नै मतभेद भएको हो । यसले व्यापारीहरूबीच बिवाद सिर्जना गराएको छ ।

लामो समयदेखि बिहीबार इटहरी बजार बन्द हुँदै आएको थियो । तर, हार्डवेयर प्लाई तथा सेनेटरी ब्यवसायी सङ्घले भने शनिबार बन्द गराउनुपर्ने भन्दै माइकिङ गरेपछि बिवाद सतहमा आएको हो ।

माइकिङ लगत्तै उद्योग बाणिज्य सङ्घ इटहरीले बिहीबारलाई नै निरन्तरता दिने भन्दै माइकिङ गरेपछि व्यापारीहरू नै अलमलमा परेका छन् ।

ब्यापारीहरूसँग समन्वयन नै नगरी हार्डवेयरको सङ्घले एकलौटी ढङ्गले बजार बन्द गराउने प्रयास गरेको युवासङ्घ इटहरीको आरोप छ ।

हार्डवेयर सङ्घ इटहरीलगायतले बिहीबार हुँदै आएको बजार बन्दलाई शनिबार सार्नुपर्ने माग राखेका छन् । आरके मार्बल्सका सञ्चालक सर्वण अग्रवालले आफूहरूलाई बिहीबार बजार बन्द गराउँने विषयमा जानकारी नभएको बताए ।

उनले भने, ‘सङ्घ गठन भएकोसम्म थाहा छैन, आ–आफ्नै तालमा सङ्घ बनाएर हुदैन होला ?’

साप्ताहिक बजार शनिबार बन्द हुँदा व्यवसायीलाई सहज हुने हार्डवेयर सङ्घका अध्यक्ष भोला निरौलाले बताए । उनले भने, ‘बिहीबारभन्दा शनिबार बजार बन्द गराउँदा व्यापारीहरूलाई सहज हुन्छ ।’ कस्मेटिक तथा मनिहारी व्यवसायी सङ्घका अध्यक्ष उमेश गोश्वामीले पनि बजारमा एकरुपता ल्याउन सबैको साझा मतको आधारमा साप्ताहिक बजार बन्द गराउनुपर्ने बताए ।

विद्युतीय व्यवसायी सङ्घ पनि शनिबार बजार बन्दको पक्षमा छ । मदिरा व्यवसायी सङ्घ पनि बजारमा एकरुपता ल्याउन शनिबार बन्द गर्नुपर्ने अध्यक्ष गोपाल चापागाईले बताए ।

इटहरी उवासङ्घ एवम वस्तुगत सङ्घका सदस्य सन्तोष आचार्य पनि शनिबार बजार बन्द गराउन राम्रो हुने धारणा राख्छन् । उवासङ्घको बैठकमा समेत यस विषयमा पटक–पटक सवाल उठेको बताए ।

तर, निचोडमा हालसम्म नपुगेको उनले बताए । यता उवासङ्घ इटहरीका पूर्व महासचिव एवम सदस्य दिवस पोखरेलले पनि शनिबार नै बजार बन्द गराउँन उपयुत्त हुने तर्क गर्छन । अहिले उवासङ्घ इटहरीमा २२ वटा बस्तुगत सङ्घ आवद्ध छन् ।

यता उवासङ्घ इटहरीका कार्यवहाक अध्यक्ष शैलेश विष्टले बजार बन्द गराउने विषयमा एउटा सङ्घले मात्र आग्रह गरेर नहुने बताए । बजार बन्द गराउने विषय साधरणसभामा लैजाने बताए ।

त्यसपछि ब्यापारीहरूको कुन दिन बजार बन्द गराउदा उपयुक्त हुन्छ भन्ने साझा धारणा आउँछ त्यहीअनुसार अघि बढ्ने बताए । इटहरीमा १० हजार ब्यापारी छन ।

टङ्क दुलाल अध्यक्ष हुँदा शनिबार या बिहीबार कुन दिन बजार बन्द गर्ने भन्ने विषयमा निर्वाचन नै गरिएको थियो ।