विराटनगर /  जिल्ला प्रशासन कार्यालय मोरङमा चालु आर्थिक वर्षसम्म ८० वटा झुडा विवरण पेश गरि किर्ते तरिकाले नागरिकता लिएको भन्दै उजुरी परेको छ । जिप्रकामा परेको उजुरीमाथि छानविन गर्दै आएको कार्यालयले जनाएको छ ।  कार्यालयमा आएको उजुरीमध्ये कतिपय अदालततिर जाने खालका छन् भने कतिपय जिल्ला प्रशासनमार्फत अन्तिम टुंगो लगाउन सकिने खालका रहेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उजुरी परेको मध्ये छानविन पछि अदालतमा केही मुद्दा बिचारधीनमा समेत रहेको बताइएको छ । कतिपय उजुरी रिसइबी साँध्ने जस्ता देखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । कार्यालयमा आएको ८० वटा उजुरी विगत १७ वर्ष यताको रहेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । चालु आर्थिक वर्षमा तीन जनाको गैर नागरिकले पाएको नागरिकता खारेज गर्न गृह मन्त्रालयमा सिफारिस गरेको कार्यालयले जनाएको छ । गैर नागरिकलाई नागरिकता दिएको पुष्टि भएपछि खारेज मन्त्रालयले गर्दछ । नागरिकता वितरणमा कडाई पछिल्लो समय झुटा कागजपत्रहरू पेश गरि नागरिकता सिफारिस लिने गरेको खुलसा भएपछि बितरण प्रणालिमा जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । विराटनगर महानगरपालिका १ मा दलालको प्रभावमा परेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा गैर नागरिकलाई नागरिकताको सिफारिस गरि नागरिकता दिलाएको खुलासा भएपछि कडाई गरिएको हो । विराटनगर महानगरपालिकाले पनि सर्जिमन गर्दा होस् वा सिफारिस गर्दा पनि गम्भीर भएर गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ । ‘वडा सदस्य तथा वडा अध्यक्षलाई प्रभावमा पारेर प्रक्रियागत कागत मिलाएर भारतीय नागरिकले नागरिकता लिने अवस्था आएपनि चनाखो हुनुपर्ने बाध्यता आएको छ,’ महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने, ‘हामी सबैलाई यो घटनाले पाठ सिकाएको छ ।’