इटहरी/ तिहारमा झिलिमिली पर्वमा सबै खुसीले रमाइरहँदा इटहरीमा भने आगलागीको विपत्ति सामना गर्नु परेको छ । इटहरीको व्यस्त बजारमा रहेका दुई घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

इटहरी–६ स्थित मुख्य चोकमा रेखा पराजुली र गोविन्द लुइँटेलको घरमा आगलागी भएको हो । आगलागी शुरुमा पराजुलीको घरमा रहेको न्यु सप्तकोशी इलेक्ट्रोनिक पसलको गोदामबाट शुरु भएको बताइएको छ । आगलागी के कारणले भयो अझैसम्म पनि खुल्न सकेको छैन ।

बाहिर सबैले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेका छन् । तर पसलका सञ्चालक त्यो मान्न तयार छैनन् । ‘विद्युतको वायरिङ नै नगरेको गोदाममा कसरी सर्ट हुन्छ ?’ उनी प्रतिप्रश्न गर्छन् । न्यु सप्तकोशी इलेक्ट्रोनिकका सञ्चालक नेत्र भट्टराईले विद्युत सर्ट भएर आगलागी नभएको दाबी गर्छन् ।

आगालागीबाट पसलका अधिकांश विद्युतीय सामान जलेर नष्ट भएको सञ्चालक भट्टराईको भनाइ छ । सामसुङ, हिमस्टार, आइडिया र हुन्डाइएरको आधिकारिक डिलर रहेको पसलमा टीभी, फ्रिजलगायतका विद्युतीय सामान थिए । ती सबै जलेर खरानी भएका छन् ।

तल्लो तलामा रहेका केही फ्रिजहरू जोगाउन सके पनि माथिल्लो तलामा रहेका सामान जोगाउन नसकिएको सञ्चालक भट्टराई बताउँछन् ।  आगलागीबाट उनको पसलमा मात्रै १ करोड बराबरको क्षति भएको उनी बताउँछन् ।

यस्तै घर धनी तथा किड्स कलेक्सन पसलका सञ्चालक गोविन्द लुइँटेल पनि आगलागीबाट धेरै नै क्षति पुगेको बताउँछन् । उनको पनि करोडौँको क्षति पुगेको भनाइ छ । अर्की घर धनी रेखा पराजुलीले घरै काम नलाग्ने भएको बताइन् ।

इटहरी, धरान, विराटनगर, इनरुवाबाट आएका दमकल, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा झण्डै ३ घण्टापछि आगो निभाइएको थियो । आगलागीबाट धेरै क्षति प’गेको छ तर त्यो क्षति पूर्ति गर्न नै नसके पनि केही सामान्य सहयोग मात्र गर्न सकिने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

इटहरी उपमहानगरपालिका पछिल्लो समय तीव्र विकास हुँदै गरेको व्यापारिक शहर हो ।

विशेष गरी व्यापारिक र व्यवसायिक कारोबारका हिसाबले यहाँ विकास भइरहेको छ । त्योसँगै चुनौती पनि उत्तिकै थपिएको छ । इटहरीमा आगलागीका घटना हेर्ने हो भने एकदमै बढ्दै गएको देखिएको छ । यो वर्षमात्रै इटहरीको मुख्य बजार क्षेत्रमा ७ वटा साना–ठूला आगलागीका घटना भएका छन् ।

निकै व्यस्त बजारका पसल तथा गोदामहरूमा आगलागीका घटना हुने गरेको देखिएको छ । वर्षको पहिलो महिनामै इटहरी–४ मा आगलागी हुँदा ४ वटा घर र त्यस घरमा भएका पसलहरू जलेर नष्ट भएका थिए । यस्तै जेठ महिनामा दुई ठूला आगलागीका घटना भए ।

व्यापारिक भवनमा रहेका इन्द्र फेन्सी स्टोरमा आगलागी हुँदा लाखौंको क्षति भयो । असार महिनामा पनि आगलागी भयो । मुख्य बजारमा रहेको मार्बल हाउस र पतञ्जली आय’र्वेदिक पसलमा आगलागी हुँदा करोडौंको क्षति भयो । यी केही प्रतिनिधि उदाहरणमात्रै हुन् ।

प्रत्येक महिना तथा इटहरीमा साना–ठूला आगलागीका घटना हुने गरेका छन् । इटहरीमा आगलागी ठूलो समस्या बन्दै गर्दा यसको पूर्व तयारी र सुरक्षाको उपाय खोज्न आवश्यक भइसकेको स्थानीय बताउँछन् । आगलागी अञ्जानमा हुने भए पनि मानव सिर्जित भएकाले यसबाट हुने क्षति अत्यन्तै कम गर्न पूर्व तयारी व्यवस्थित हुनु पर्ने इटहरीका स्थानीयको माग छ ।

आगलागी नियन्त्रणमा दमकलको प्रमुख भूमिका हुन्छ । इटहरी उपमहानगरपालिकामा दुई वटा दमकल छन् । तर निकै पुराना भइसकेका छन् । थोरै पानी अट्ने क्षमताका छन् । दमकल भए पनि टुटफुट भएकाले गर्दा राम्रो काम गर्न सक्ने अवस्थामा नरहेको दमकल कमाण्डर जेबी राई बताउँछन् ।

दमकलका पाइप टुटफुट भएका, आवश्यक सामग्री नभएका कारण आगो निभाउन समस्या हुने गरेको देखिएको थियो ।

यस्तै प्राविधिक समस्याका कारण चाहँदाचाहँदै पनि दमकलले आगो निभाउन गाह्रो परेको थियो । समयसँगै आधुनिक प्रविधिको प्रयोग गर्न आवश्यक देखेर जडान गरेको बोरिङ सिस्टमले काम गरेको सेन्टर प्लाजाका सञ्चालक राजेश श्रेष्ठ बताउँछन् ।

इटहरीको बढ्दो आधुनिक शैलीसँगै सुरक्षाको उपायको प्रयोग अग्रिम गर्नुपर्ने उनको भनाइ छ ।