विराटनगर / अन्यबेला विराटनगर – १४ जतुवा स्थित कृष्ण गौ सेवा सदनमा रहेका गाई र गोरुलाई आहार दिने यहाँका कर्मचारी मात्र तलिन हुने गर्थे । तर, आज बिहिबार गौ सदनमा रहेका गाई र गोरुलाई आहार घाँस दिन प्रदेशका मन्त्रीदेखि महानगरपालिकाकी उपप्रमुख तथा सर्वसाधरण भिड देखियो । छठ पर्वको दुईदिन पछि मनाईने ‘गोपाष्टमी’ पर्वको अवसर पारेर कृष्ण गौ सेवा सदनले आयोजना गरेको कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, समाजसेवी तथा उद्योगी दिनबन्दु गोयलदेखी व्यापारी र सर्वसाधरणले गाईलाई घाँस दिए । गोपाष्टमी पर्वको अवसरमा सदनमा रहेका गाई, गोरुलाई पुजा गरि मिष्ठान र हरियो घास खुवाए । उक्त पर्वको अवसरमा पुजापाठ, हवन, भजन किर्तन र प्रसाद वितरण लगायतका कार्यक्रम भयो । हिन्दूधर्ममा गाईलाई आमाकै दर्जा दिइएकाले प्रत्येक बर्ष गोपाष्टमीमा कार्यक्रम आयोजना गर्ने गरिएको श्रीकृष्ण गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए । सदनमा हाल २ सय ५ वटा गोबंशको पालनपोषण गर्ने गरिएको छ । सदन पुर्णरुपमा समाजसेवीहरुको सहयोगमा सञ्चालित छ ।