विराटनगर/  मोरङको पूर्वी भेगको इटा उद्योगमा गाँजाको कारोबार हुने गरेको पाइएको छ । अधिकांश उद्योगमा भारतबाट आएका कामदारहरूले बाहिरबाट खरिद गरी भित्र अवैध गाँजाको कारोबार हुने गरेको फेला परेको हो । मोरङको रङ्गेली–३ स्थित दिलिप बगडियाले सञ्चालन गरेको आन्नद इट्टा उद्योग परिसरभित्र गाँजाको कारोबार गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । आनन्द इटा उद्योगको इटा भट्टामा लेबर काम गर्ने भारत बङ्गाल कुसबिहार बस्ने ३० वर्षीय हेमन्त बर्मनले उद्योग परिसरभित्र गाँजाको कारोबारसमेत गर्नेे गरेको बुझिएको हो । उद्योग परिसरभित्र क्यान्टिनसमेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रूपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न माहिर रहेका हेमन्तले उद्योग भित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलको छ । करिब एक हजारको सङ्ख्यामा मजदुर रहेको उक्त उद्योगका धेरै पुरुष कामदारहरूलाई गाँजा भरेर पैसा लिँदै चिलिमको हिसाबले बिक्री गर्थे । इटा उद्योगभित्र गाँजाको कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले बिक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको लागूऔषध गाँजा साढे दुई केजीसहित कारोबारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।

मोरङको रङ्गेली–३ स्थित दिलिप बगडियाले सञ्चालन गरेको आन्नद इटा उद्योग परिसरभित्र गाँजाको कारोबार गर्ने गरेको खुलेको छ ।

उद्योगका सञ्चालक बगडिया रङ्गेलीका मेयर समेत हुन् ।

‘उद्योग भित्रको क्यान्टिनमा छापा मार्ने क्रममा गाजा फेला प¥यो,’ इप्रका रङ्गेलीका प्रमुख,’ कार्कीले भने, ‘बुझदै जाँदा पक्राउ परेका व्यक्तिले नेपाल र भारतबाट गाँजा मगाउने गरेको खुलेको छ ।’ पक्राउ परेका भारतीय नागरिकलाई लागूऔषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको छ । उक्त उद्योगका सञ्चालक बगडिया रङ्गेलीका मेयर समेत हुन् । यस अघि श्रम कार्यालय विराटनगरले अनुगमनको क्रममा व्यापक रूपमा श्रम शोषण गरेको फेला परेको थियो । श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको नेतृत्वमा गएको अनुगमनको टोलीले यस्तो फेला पारेको थियो । मजदुरको श्रम शोषण गरेको पाइएपछि उद्योगलाई तत्काल श्रम ऐन लागू गर्न दिर्नेशनसमेत दिएको संञ्जेलले बताए । लागूऔषधसहित २ पक्राउ वडा प्रहरी कार्यालय (ख) विराटनगर हाटखोलाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका २ स्थित रेल्वे बाटोमा दक्षिणबाट उतरतर्फ आउँदै गरेका कटहरी गापा ४ बस्ने २९ वर्षीय मो. मताज मियाँ र सोही वडाका २० वर्षीय अनिलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नाईट्रोसन ९० ट्याब्लेटसहित पक्राउ गरी लागूऔषधअन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।