विराटनगर/पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

नागरिक अभिनन्दन समारोह समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो मंसिर १ गते भव्य कार्यक्रम गरि अधिकारीलाई अभिनन्दन गर्ने जनाएको हो । त्यसको तयारीका लागि १ नम्बर प्रदेशका १ सय बढी संस्था, राजनीतिक तथा सामाजिक व्यक्तित्व, सांसद, पेशाकर्मी, पत्रकार, साहित्यकार लगायतका समाजका विभिन्न क्षेत्रका व्यक्ति सम्मिलित ३ सय १ सदस्यीय मूल समारोह समिति पनि बनाइएको छ ।

एलिट क्लब विराटनगर तथा विराटनगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबीच गत असोज ७ गते बसेको बैठकले अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले जानकारी दिए ।

कार्यक्रमलाई व्यवस्थित गर्न ३८ सदस्यीय कार्यसम्पादन समिति पनि निर्माण भएको छ ।

उक्त समितिको उपाध्यक्षमा विराटनगरका पूर्व मेयर रमेशचन्द्र पौडेल, सचिवमा मनमोहन स्मृति प्रतिष्ठानका सुभाषश्री पोखरेल र कोषाध्यषमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे रहेका छन् । विराटनगरको विरेन्द्र सभागृहमा हुने यस किसिमको कार्यक्रम पहिलो भएको आयोजकले जनाएको छ ।

विराटनगरका नागरिक समाजका अगुवाहरु सम्मिलित विभिन्न संघ संस्था मिलेर प्रत्येक वर्ष १ जना व्यक्तिलाई नागरिक अभिनन्दन गर्दै आएका छन् ।