इनरुवा/इनरुवा सखुवागाछीका अग्नी पीडितले जनप्रतिनिधिको तलबबाट क्षतिपूर्ति दिनुपर्ने माग जोडदार रूपमा उठाएका छन् ।

जनप्रतिनिधिको लापरबाहीले समयमा दकमल आइनपुगेपछि क्षति धेरै भएको निश्कर्षसहित अग्नीपीडितले यस्तो माग गरेका हुन् । इनरुवा– ३ सखुगावाछीमा बुधबार बेलुका सुरेन्द्र दुलालको दुई तले घरमा आगलागी भएको थियो ।

आगलागीबाट करिब ४ लाख ५४ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पीडित पक्ष र स्थानीयवासीलाई राखेर गरिएको मुचुल्कामा सो बराबरको क्षतिको अनुमान गरिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा नगरपालिकाको दमकल बिग्रेकाले आगो निभाउन इटहरी र दुहवीका दमकल आइपुग्न समय लाग्दा बढी क्षति हुन पुगेको पीडितको भनाइ छ ।

सोही विषयलाई लिएर इनरुवा नगरपालिका प’गेका ३ वडाबासीले उपप्रमुख जमुना गौतम पोखरेललाई ज्ञापन पत्र बुझाउँदै आगलागीबाट भएको क्षतिको क्षतिपूर्ति निर्वाचित जनप्रतिनिधिको तलवभत्ताबाट कट्टा हुने गरी उपलब्ध गराउनु पर्ने माग गरे ।

दमकलजस्तो अत्यावश्यकीय साधन बिग्रदा समयमै नबनाइएको, बिग्रेको भनिएको दमकलका सामान अन्यत्र स्थानबाट मर्मत नगरी सिपर्दीमै छोडिनु लापरवाही भएको भन्दै नगरपालिकाले सम्पूर्ण क्षति भर्नु र्पर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

ज्ञापन बुझाउने क्रममा उपप्रमुखसहित ३ नम्बर वडाध्यक्ष कालुराम गुरुङलगायतको उपस्थितिमा दमकल इन्चार्ज बिनोद भट्टराईले इटहरीमा भएको आगलागी नियन्त्रण गरेर फर्किने क्रममा नै दमकलमा खराबी आएको बताए ।

कार्यालय बिदा रहेको र बिदाका समयमा सिपर्दीमा काम गर्ने मेकानिक नहुँदा आइतबार कार्यालय खुलेलगत्तै नपाको पत्रसाथ दमकल मर्मतका लागि इटहरी पुर्याइएको भट्टराईले बताए ।

ज्ञापन पत्र बुझ्दै इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले स्थानीयको मागको सवालमा कार्यपालिका आपतकालीन बैठक डाकी आवश्यक छलफल गर्ने बताइन् ।