विराटनगर/ सँगै जीउने, संँगै मर्ने बाचा गरेका आफ्नै श्रीमतीले परपुरुषसँग लागेर हत्या गर्लान भन्ने कुन श्रीमानले सोचेको हुन्छ ? श्रीमान श्रीमतिबीच सामान्य विवाद र झगडा भएपनि त्यसलाई परालको आगोको रुपमा लिने गरिन्छ । किनकी उनीहरु बिचकोे सम्बन्ध अरु कसैको हुँदैन । तर, मोरङ सुनवर्सी नगरपालिमा ३ स्थित आफनै श्रीमानको हत्या प्रेमीसँग मिलेर गरेको खुलेको छ ।

प्रेमीसँगको अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।

खुसीको हत्या गर्ने फुलमुनी र मदनलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

‘कात्तिक २४ गते श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको प्रराम्भिक अनुसन्धानबाट देखियो,’ इप्रका रानीका प्रमुख कविन्द्रकुमार कार्कीले भने, ‘सोही र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले सोहीलाई घरबाट लगेर मदिरा सेवन गराएका देखिन्छ ।

सोही मदिरामा लठिएपछि श्रीमति फुलमनी र मदन मिलेर हत्या गरेको देखियो ।’ मदिरामा लठिएका सोहीले श्रीमतिसँग झगडा भएपछि फुलमुनीले घरमा बस्ने काठको ‘पिरा’ प्रहार गरेकी थिइन् । पिराले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको कार्कीले बताए ।

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार कन्चटमा पिराले लागेपछि लडेका सोहीको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

सामान्य मजदुर परिवारका सोही सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो हुने गरेको थियो । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अहिले थप अनुसन्धान भइरहेको जनाएको छ ।