पथरी/सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधिन मदन भण्डारी राजमार्गको केही स्थानमा नयाँ नक्सा कायम गरेपछि विवाद सिर्जना भएको छ ।  सरकारले पूर्वका केही स्थानमा पुरानो नक्सालाई फेरबदल गर्दै नयाँ नक्सा कायम गरेपछि स्थानीयले विवाद झिकेका हुन् ।

मोरङको लेटाङ नगरपालिकादेखि केराबारी गाउँपालिकासम्म नक्सा परिर्वतन गरिएको छ । लेटाङ–२, तुर्केमा सोमबार स्थानीयले पत्रकार सम्मेलन गर्दै सडकको नक्सा फेरबदल गरेकोप्रति आक्रोस पोखे । पुरानो नक्सा फेरबदल गरेपछि लेटाङका सोमनाथ निरौलाको संयोजकत्वमा लेटाङ नगर स्तरीय सरोकार समिति गठन गर्दै पुरानै नक्सालाई कायम गर्न माग गर्ने भएका छन् ।

यसका लागि सम्बन्धित निकायमा जाने तयारीमा समिति छ । २०५५ सालअघि धरान–केराबारी–दमकसम्मको वैकल्पिक राजमार्ग बनाउन पहल गरेको सडक २०६४ र ०६८ सालमा नेपाल सरकारले सर्वे गरेको थियो । सरकारले यो मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा पारेपछि गत साउनमा बाटोको सर्वे भएको थियो ।

सडक सर्वेका लागि आउनेहरूलाई भूमाफियाहरूले प्रलोभनमा पारी नक्सा परिवर्तन गरेको संयोजक निरौलाको आरोप छ । उनले भने, ‘पुरानै नक्सा कायम हुनुपर्छ । केही प्रदेश सरकारका सांसदहरू लागि परेका कारण माफियाहरू आफ्नो घरघडेरी, प्लटिङ छुवाउँदै नयाँ नक्सा निकाल्न सक्रिय रहे ।’

लेटाङ नगरपालिका–२, राईगाउँ चिसाङ खोलाबाट २ मिलोमिटर उत्तरबाट राजमार्गको नयाँ नक्सा निर्माण गरिएको छ । नक्सामा रातो धर्का लगाएको रेखाहरू नयाँ सर्वे हो । जस्मा लेटाङ नगरपालिका–२, तुर्केसम्म पुरानै नक्सा हँुर्दै चिसाङ खोला राईगाउँबाट उत्तर भोगटेनी चौक, सुकेचौरी, करम बोटे, किसान चौक, जाँते बजार, बेल्टार, खोलिटार हुर्दै बक्राहा खोलासम्म बाङ्गोटिङ बाटो भएर नयाँ राजमार्गको नक्साङकन (सर्वे) गरिएको छ ।

त्यसैगरी पुरानो सर्वेको नक्सा लेटाङ नगरपालिका–२, तुर्केबाट राईगाउँ हुँदै चिसाङ खोलामा पुल, बीपी चोक, बुढौली चोक, मदन चोक, बाहकोटे चोक, लालबस्ती, ढाँडे हुँदै बक्रा खोलाको पुल हुर्दै सिधा झापा निस्कन्छ । लेटाङ–२, तुर्केबाट बक्राखोला पुलसम्म पहिलेको नक्साको राजमार्गको लम्बाइ १५ दशमलव ६ किमी रहेको छ भने नयाँ नक्सामा २४ दशमलव ३ किलोमिटर रहेको छ ।

नयाँ र पुरानो बाटोलाई तुलना गर्दा ९ किलोमिटरको अन्तर देखिएको छ ।  यसलाई नयाँ नक्साबाट राजमार्ग लाँदा यही स्थानमा अर्बौ रकम लाग्ने लेटाङ–९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताए । त्यति मात्र होइन पुरानो नक्साको बाटोमा चिसाङ र बक्रा खोलामा अर्बौको लगानीमा पुल बनिसकेको छ । अहिले नयाँ नक्साको बाटोबाट लगियो भने चिसाङ र बक्रा खोलाको पुलमा अर्बौको पुल बनाउनु पर्ने स्थानीय युवराज फुयाँलले बताए ।

अहिले बजारमा १५६५ फुटको बाटो बन्न लागेको हावा फैलाएर पुरानो नक्साको बाटोको छेउछाउँ बसोबास गर्ने स्थानीयलाई त्रसित बनाएर बाटो घुमाएर लगेको स्थानीय जनक आर्चायले गुणासो गरे । यस राजमार्गमा बास्तबिक २५ मिटरको चौडा र ७ मिटरको पिचको योजना रहेको अर्का लेटाङ(२, का वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले बताए ।

नयाँ नक्सा अनुसारमा कसैको १० देखि १५ कट्ठा सम्म घर जग्गा काटिने बताइएको छ । मदन भण्डारी राजमार्ग निर्माणाधीन राष्टिूय राजमार्ग परियोजना हो ।

यस राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव १२ सय किलोमीटर लामो रहेको छ । राजमार्ग झापा बाहुण्डाँगी बाट सुरू भै शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ ।

यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । जस अनुसार आ.ब. २०७५/७६ को बजेटमा ४ अर्ब ५० करोड रूपैयाँ रकम विनियोजन गरिएको छ । अहिले धरान चतरा देखि हेटौडा सम्मको ३ सय किलोमिटर काम अघि बढिसकेको छ ।

जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।