रङ्गेली/ भारतीय लागानीको मोरङ बुढिगङ्गास्थित आरती स्ट्रिप प्रालिका सञ्चालकले कम्पनी लिलामी हुने डरले कर्मचारीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको छ ।  भारतीय व्यापाराी सञ्जय सिङ्घलद्वारा सञ्चालित प्रालिको अधिकार कर्मचारीलाई सुम्पेको हो ।

कर्जा नतिरेपछि भारतीय बैङ्कहरूले सिङ्घलको लगानीमा खुलेका कम्पनी, उद्योग तथा कार्यालय लिलामीको प्रकृया थालेपछि हतारोमा कर्मचारीलाई सम्पूर्ण अधिकार दिने गरी हस्तान्तरण गरेको हो ।

उद्योगी सिङ्घलले भारतका विभिन्न बैङ्कबाट ४७ हजार करोड भारतीय रूपैयाँ कर्जा लिएर नतेरेपछि लिलामी प्रकृया थालिएको स्रोत बताउँछ । त्यही डरका कारण सिङ्घलले प्रालिको सम्पूर्ण अधिकार कर्मचारीलाई सुम्पेको स्रोत बताउँछ ।

विगत १० वर्ष देखि भारतका विभिन्न बैङ्कबाट लिएको कर्जाको ब्याज समेत नतिरेको बुझिएको छ । उद्योगी सिङ्घलले भुषण पावर एण्ड स्टिल लिमिटेडको नामबाट भारतको विभिन्न स्थानमा सञ्चालनमा रहेका उद्योगलाई भारत सरकारले लीलामी प्रकृया शुरू गरेको हो ।

आरतीका उच्च ओहोदामा कार्यरत कर्मचारी सञ्जिव शर्मालाई अध्यक्ष बनाएर कम्पनीको सम्पूर्ण कारोबार गर्ने अधिकार दिएका हुन् ।  आर्थिक कारोबारको अधिकार अस्विनी शर्मा र विशाल गुप्तालाई निर्देशक बनाएका छन् ।

उद्योगी सिङ्घलले भारतका उद्योगहरू लिलामीमा परेकाले यहाँको उद्योग पनि लिलामीमा पर्ने भयले कम्पनीको सम्पूर्ण अधिकार कर्मचारीलाई दिएको नेपाल समाजवादी ट्रेड यूनियन महासङ्घको केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए ।

सिङ्लको भुषण पावर एण्ड स्टिल लिमिटेडको शाखाको रूपमा रहेको आरतीले पनि नेपाली बैङ्कहरूबाट ठूलो परिमाणमा कर्जा लिएको छ । सिङ्घलको भारतका कम्पनीहरू लिलामी पर्ने बित्तिक्कै नेपाली बैङ्कहरूले आरतीमा गरेको लगानीसमेत सङ्कटमा पर्ने सम्भावना बढेको छ ।

सिङ्घलको भुषण पावर एण्ड स्टिल लिमिटेडको लिलामीमाथि भारतीय जेएसडब्लु र टाटा स्टिलले बोलकबोल गरिरहेको स्रोत बताउँछ ।