
विराटनगर/ व्यवस्थीत रुपमा सुरक्षा गार्ड राखेर जुवा खेलाएको सूचना प्रहरीलाई आएपछि उद्योगी चम्पलाल राठीको उद्योगको गोदाम छापा मार्दा ठूलो परिणामको रकम सहित पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीलाई भरपर्दा सूचना आएपछि मोरङको बुढीगंगा गाउँपालिका – १ गंगाचौकमा रहेको एक उद्योगको गोदाममा आइतबार बिहान छापामार्दा जुवाडे पक्राउ परेका हुन् ।
विशेष सुराकीको आधारमा मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले स्वस्तीक जुट उद्योग संचालन गर्ने उद्योगी चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित पाँच जना जुवाडे पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले विराटनगर– ५ बस्ने जीवन रिजाल, विराटनगर– ३ बस्ने ५१ वर्षिय मुकेश कुमार अग्रवाल, विराटनगर– ७ बस्ने ५१ वर्षिय बिमल अग्रवाल र बर्ष ३८ को हंशराज जैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्ने मध्धे हंशराज यस पनि जुवा खेल्दा पक्राउ परेका जुवाडे हुन् । प्रहरीले यस अघि उनलाई विराटनगर क्षेत्रमा मारवडी सामुदायमा सट्टाबाजी खेलाउँदा पक्राउ गरेको थियो ।
जुवा खेलाउने उद्योगी चम्पालालले विराटनगर प्रतिष्ठित व्यापारीहरूलाई बोलाएर आफ्नो उद्योगको गोदममा व्यवस्थित रुपमा सुरक्षा गार्ड खटाएर जुवा खेलाउने गरेका थिए ।
जुवा खेलाएको ठाउँदेखी बाहिर सुरक्षा गार्डलाई राख्ने गरेका थिए । पक्राउ परेका रिजाल विराटनगरका ठूला धानचामल व्यापारी हुन् भने अग्रवाल तेल र च्यूराको व्यापार गर्छन् । उनको श्याम एग्रो उद्योग पनि छ ।
पक्राउ परेका बिमल अग्रवाल भने कटहरीका धानचामल व्यापारी हुन् भने जैन विराटनगरका स्थापित मारवाडी अगुवा हुन् ।
जुवा खेलाएको ठाउँमा प्रहरी आएको थाहा पाएपछि जुवा खेल्ने अन्य आधा दर्जन विराटनगरका नाम चलेका व्यापारीहरू फारर भएको स्रोतले बताए ।
प्रहरीले उनीहरूको पनि खोजी गर्दै आएको छ । जुवा खालबाट फरार हुनेहरू सुनिल बिड्ला, जितु साह, चुन्नु राठी रहेका छन् । फारर हुने चन्नु पेसेवर जुवाडे हुन् ।
उक्त खालबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा सात दिनको म्यात थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुवाडेलाई छुटाउन उद्योगी सक्रिय जुवा खालबाट प्रहरीले प्रतिष्ठित व्यापारी चम्पालाल राठिसहित जुवाडे पक्राउ परेपछि उद्योगी, व्यापारीहरु उनीहरुलाई छुटाउन सक्रिय भएका थिए ।
उद्योगी, व्यापारी र राजनैतिक दलको दबाबको बिचपनि प्रहरीले जुवा ऐन अन्तरर्गत मुद्दा दर्ता गरेपछि अभियोग पत्र चाँडो बुझाएर मुद्दाको सुनवाइ गराउन दबाब दिने गरेको स्रोतको दाबी छ ।
जुवाडेलाई छुटाउन विराटनगरका नाम चलेका प्रतिष्ठित व्यापारीहरुनै लागि परेको स्रोतले बताए । प्रहरीले आइतबार म्यात थप गरे पनि चाँडै अभियोग पत्र बुझाउन दबाब दिने गरेको बताइएको छ ।
यस्तो छ ऐनमा ? नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेले पनि जेल जानुपर्ने व्यवस्था उक्त संहितामा छ ।
मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ ।
त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।
जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।
कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ ।
कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।
तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन ।
































