हाम्रो भान्सामा प्रयोग हुदै आएका जिरा, मेथी, ज्वानो,बेसार (हर्दि), लसुन, खोर्सानी, टिमुर, जाइदाना, अलैची, दालचिनी, तेजपात, पुदिना, अदुवा, ल्वाग, मरीच आदि जस्ता अन्य धेरै प्रकारका मसालाहरुमा आयुर्वे्दिक औषधीय गुण हुने गर्दछ । मसलाले खानाको स्वाद, रङ्ग, वास्ना बढाउने मात्र नभई यिनमा रहेका औषधीयगुणयुक्त तत्वहरुले हामीलाई बिभिन्न रोगहरुलाग्नबाट बचाउने गर्दछ । तर हिजोआज कालोबजारीले मरमसलाहरुलाई समेत अछुतो राख्न सकेको छैन । विशेषगरी चाडबाड नजिकिदै गरेको बेलामा बजारमा मिलावटयुक्त मसलाहरुको बिगबिगी बढेको देख्न सकिन्छ । मिलावटयुक्त मरमसलाहरुको सेवनले शरीरमा पोषकतत्व को कमी हुने मात्र नभई यिनमा प्रयोग गरिएको काठको धुलो, ढुङ्गाको धुलो, अखाद्द रङ्ग र तेलको कारण हाम्रो स्वास्थ्यमा (पाचनक्रियामा) नकारात्मक असर पर्ने गर्दछ । कसरी गर्छन् त मिसावट ? मरीच: कालो मरीचमा सुकाएको मेवाको दाना असर: पेटमा गडबडी, कलेजोमा सङ्क्रमण, क्यान्सर समेत लाग्ने सक्ने जिरा र धनियाँः जिरा तथा धनियांको दानामा झट्ट हेर्दा उस्तै उस्तै देखिने झारका दानाहरु कोइला तथा अन्य रङ्ग प्रयोग गरी रङ्ग्याएर हालिन्छ । रातो खोर्सानीःरातो खोर्सानीको धुलोमा काठको धुलो,‘लीडअक्साइड’ नामक शिशायुक्त धातु, इटाको धुलो र कृतिम रङ्ग असर: कलेजोको सङ्क्रमण, पेटमा गडबडी ल्वांग: ल्वांगमा तेल निकालिएको ल्वांगका खोस्टाहरु राखिन्छ रहरको दाल: रहरको दालमा पहेंलो देखिने विषालु ‘मेटानिल’ नामक रासायनिक रङ्ग तथा खेसरीको दाल असर: लामो समय सम्म प्रयोग गर्नाले पक्षघात समेत हुनसक्ने तोरीको तेल : तोरीको तेलमा ‘आर्जिमोन’ नामक हानिकारक तेल असर:हात खुट्टा सुन्निने, मृगौला खराब हुने, मुटु तथा फोक्सोमा असर तथा मृत्यु सम्म हुन सक्ने बेसार (हर्दि):बेसारतथा बेशनमा, गहुँको पिठो, रङ्ग बनाउन प्रयोग गरिने ‘लिड क्रोमाइट’ भनिने विषालु रसायन तथा पहेलो ‘मेटानिल’ नामक अखाद्य रङ्ग असर:मस्तिष्क तथा स्नायु प्रणालीमा असर केशर (स्याफ्रोन): केशर सबैभन्दा महँगो मसला मा पर्दछ। यसमा कृतिम रुपमा तयार गरिएको गम जस्तो रंगीन जिलेटिनका रेशा तथा मकैका घोगामा पलाएका जुँगा रंग्याएर मिसाउने गरिन्छ । दालचिनीः दालचिनीमा उस्तैदेखिने अन्य रुखका बोक्राहरु मिसाउने गरिन्छ । चिन्ने कसरी ? बेसार (हर्दि),वेशन वा दाललाई पहेलो देखाउनका निम्ति ‘मेटानिल’ नामक हानिकारक रसायन प्रयोग गरिएको छ या छैन जाँच्नका लागि उक्त वस्तुलाई मनतातो पानीमा राखी केहि थोपा फिक्का ‘हाइडूो क्लोरिक एसिड’ नामक अम्ल वा सो नभएमा थोरै अल्कोहल (रक्सी) र केहि थोपा सिरका (भिनेगर) हाल्नु पर्दछ । यदि सो पानीको रङ्ग गुलाबी, वैजनी या रातो भएमा मिसावट भएको निश्चित हुन्छ । एक चम्चा रातो खोर्सानीको धुलोलाई एक गिलास पानीमा हाल्ने। शुद्ध खोर्सानीको धुलो गिलासको पानीको पिंध तर्फ बिस्तारै थिग्रिन थाल्छ भने यसमा मिसाइएको काठको धुलो पानीमाथी तैरिन्छ । यदि रङ्ग मिस्सिएको भए गिलासको पानीमा राता मसिना घागा जस्ता त्यान्द्राहरु बनाउदै पिंध तर्फ जान्छ र पानीलाई रातो बनाउँछ । धनियाँ तथा जिराको धुलो (पाउडर) लाई एक गिलास पानीमा हाल्ने । यदि यसमा काठको धुलो, धानको भुस आदि मिसाइएको भए उक्त प्रकारका धुलोजन्य वस्तुहरु पानी माथि तैरिन्छ भने मसला तल तिर थिग्रिन्छ मरीचको दाना वा मरिचको धुलो लाई पानीमा डुबाउने यदि यसमा मेवाको दाना वा धुलो मिसाइएको भए उक्त दाना वा धुलो पदार्थ पानीमा तैरिन्छ । तर मरीचको दाना वा धुलो भने तल तिर थिग्रिन्छ । जिरालाई एक दुइ थोपा पानी राखी हत्केलामा राखेर मोल्ने यदि कोइला तथा अन्य रङ्ग भए हत्केलामा देखा पर्दछ । तोरीको तेलमा ‘आर्जिमोंन’ नामक तोरी जस्तै देखिने दानाहरु मिसाएको हुन् सक्छ । तर आर्जिमोनको दानाको सतह तोरीको जस्तो चिल्लो नभएर केही खस्रो हुन्छ र यसलाई थिचेमा भित्रबाट सेतो पदार्थ निस्कन्छ भने तोरीको दाना लाई थिचेमा भित्रबाट पहेलो पदार्थ निस्कन्छ । तर तेल भने छुट्याउन गाह्रो हुन्छ । यद्दपी मिसावट युक्त तेलको रङ्ग गाढा पहेलो हुन्छ र तर यसमा तोरीको शुद्द तेलको झैँ नाक पोल्ने किसिमको प्राकृतिक वास्ना भने हुदैन । अध्यापक, केन्द्रीय प्रविधि क्याम्पस, धरान