उर्लाबारी/ उर्लाबारीको दुर्गापुरीमा सञ्चालित प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको छ । सोमबार भएको मैदानमा भएको फाइनल खेलमा आयोजक कुलझोडा युवा क्लब उर्लाबारीलाई ट्राइब्रेकरमा पनि २–२ गोल भएपछि सडेन डेथबाट चर्च ब्वाइजले उपाधि हात पारेको हो । उपाधिसँगै चर्च ब्वाइजले दुई लाख र उप–विजेता आयोजक टिमले एक लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा विजेता टिमका भूवन बस्नेतलाई सर्वाधिक गोलकर्ता, सन्तोष प्रधानलाई बेस्ट किपर, रमेश राजवंशीलाई बेस्ट डिफेन्स, सुशील राई बेस्ट फरवार्ड तथा आयोजक टिमका भूषण लिम्बूलाई उत्कृष्ट खेलाडी, सन्तोष योञ्जनलाई म्यान अफ दी म्याच, खमिर कन्दङ्वालाई बेस्ट मिडफिल्डर घोषण गरी पुरस्कृत गरिएको थियो । आयोजक समितिका संयोजक कमल फियाकको अध्यक्षता तथा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रमुख अतिथि कार्कीले खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने बताएका छन् । कार्यक्रममा एन्फाका सह–महासचिव वसन्त अर्याल, प्रदेश संसद् कुशल लिम्बू, रतुवा–माई नगरपालिकाका मेयर रविन राई, उर्लाबारी नगरपालिकाका उपमेयर लक्ष्मीदेवी भण्डारी, मोरङ फुटबल सङ्घका अध्यक्ष दीपेन्द्र धिमाल लगायतका वक्ताले खेलकुदको विकासका बारेका मन्तव्य व्यक्त राखेका थिए । कात्तिक १२ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो ।