धरान / आार्थिक अनियमितताको आरोपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई बर्खास्त गर्ने तयारी स्वास्थ्य मन्त्रालयले थालेको छ ।  अनियमितता छानबिन गर्न प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनअनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले २४ घण्टे स्पष्टीकरण सोधिसकेका छन् । पत्र गत आइतबार नै उपकुलपति प्राडा. राजकुमार रौनियारले प्राप्त गरेका छन् ।

यो छानबिन समिति प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ वमोजिम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गठन गरिएको बताइएको छ । ऐनको दफा ११ घ मा प्रतिष्ठानका ४ जना पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सहकुलपतिको अध्यक्षतामा २ जना सिनेट सदस्यहरू राखेर कुलपतिले असोज ५ गते छानबिन समिति गठन गरेका हुन् । उनले जवाफ दिएपछि स्वास्थ्य मन्त्रालयले सिनेट बैठक डाक्ने छ ।

उक्त विषयमा छलफल गरी बर्खास्तको सिफारिस कुलपतिलाई गर्ने छ । कुलपति तथा प्रधानमन्त्री केपी ओलीले उनलाई बर्खास्त गर्न सक्ने छन् । मन्त्रालय श्रोतका अनुसार उनलाई बर्खास्त गर्न सबै प्रक्रियाहरू पूरा भएको बताइएको छ ।  यता उपकुलपतिलाई बरखास्तसँगै केही दिनअघि रजिष्टार तुलबहादुर श्रेष्ठ र आर्थिक शाखा प्रमुखको हस्ताक्षरमा असम्बन्धित व्यक्तिले ५ लाख भुक्तानी लगेको विषय ओझेलमा पर्ने भएको छ । उक्त विषयलाई कुनै निकायले खोजी गरेको छैन् । जिम्मेवार व्यक्तिको हस्ताक्षरमा प्रतिष्ठानसँग कुनै सम्बन्ध नै नभएका व्यक्तिबाट रकम निकालिदा बैक वा कर्मचारी, पदाधिकारी को दोषी भन्ने विषयमा खोजी हुन सकेको छैन् ।