बराहक्षेत्र । एक नम्बर प्रदेशको राजधानीको निर्धारण र नामाङ्कनको लागि दलहरु मिलेर जानुको विकल्प नभएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।
शनिबार वराहक्षेत्रको चतरामा आयोजित तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारणसभा र नवनिर्मित सभाहलको उद्घाटनमा बोल्दै सभामुख भण्डारीले प्रदेश सभामा अहिलेसम्म प्रदेशको राजधानी र नामाङ्कनसम्बन्धी विषय समावेश नभएकोमा जनतामा रहेको कौतुहलताका बारे बोल्दै उनले राजधानी तोक्न र नामाङ्कन गर्न सरकार सांसद्हरूको दुई तिहाइ बहुमतको पक्षमा नरहेको भन्दै राजधानीको विवादलाई दलहरुको आमसहमतिमा टुङ्ग्याउनु पर्ने बताए ।
राजनीतिक मत विभाजनभन्दा पनि दलहरूको आपसी सहमतिमा जोड दिँदै भण्डारीले यसका लागि आन्तरिक संवाद अन्तरक्रिया आवश्यक भएको भन्दै त्यसका लागि सरकारले गृहकार्य गरिहेको बताए । ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा रहेको र सिक्ने क्रममा रहेका हुँदा राजधानी र नामाकरणको विषय ढिलो भएकाले धैर्य गर्न आग्रह गर्छौँ ।’ उनले स्थानीय प्रदेश र सङ्घीय सरकारबीचमा केही असमझदारी र अन्यौलता रहेको भन्दै त्यसलाई व्यवस्थित गर्ने मुख्य उपाय कानूनमात्रै भएको बताए । प्रदेशले सत्रवटा विधेयकलाई कानून बनाएको जानकारी दिए ।
फरक प्रसङ्गमा बोल्दै सभामुख भण्डारीले प्रदेश सरकारले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेकाले स्वस्थ खानेपानीसँग कुनै सम्झौता नगरिने बताउँदै सरकारले अनुगमन गरेर पानीमा मिसावट गर्नेलाई कारबाही गरेको बताए ।
प्रदेश सरकारले जनताको खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको बजेट विनियोजनलाई आगामी दिनमा महत्वकासाथ स्थान दिने बताए । यसैगरी खानेपानीलाई व्यवस्थित र मर्यादित बनाउन उपभोक्ता खानेपानी समितिको नेतृत्वको मात्र भर नपरेर जनता आफै सचेत र जागरुक हुनुपर्ने बताए । तोरीबारी खानेपानी समिति ग्रामीण क्षेत्रको खानेपानी समितिमध्ये उत्कृष्ट पाँचौँ स्थानमा परेकाले खुसी व्यक्त गर्दै उनले शुद्ध पानी पिउने सम्बन्धमा चतराका स्थानीय भाग्यमानी रहेको बताए । आगामी दिनमा तोरीबारी खानेपानी संस्थालाई सक्दो सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
खानेपानीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डम्वरप्रसाद सिग्देलले आर्थिक वर्ष ०७४÷७५ आयव्य प्रस्तुत गर्दै ०७५/७६ को अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०७४/७५ मा आयतर्फ ५३ लाख ६१ हजार ४ सय १५ रुपैयाँ र खर्चमा ४३ लाख ४९ हजार ६ सय १० रुपैयाँ ३४ पैसा रहेको बताए । यसैगरी आव ०७५/७६ मा आम्दानीतर्फ ५७ लाख ६६ हजार ८ सय ७१ रुपैयाँ र व्ययतर्फ ७३ लाख ३३ हजार ८ सय ८७ रुपैयाँ ६६ पैसा रहेको बताए ।