धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ चिरविरे चौतारा घर भएका चित्रकार ६२ वर्षिय डिल्ली कृष्ण आलेले वडा नं. ६ मा पर्ने धार्मिक पर्यटकिय क्षेत्र फोक्ल्याण्ड टापुलाई क्यान्भासमा उतारेका छन् । झण्डै साढे तीन दशक निजामती सेवामा सरकारी नोकरी पुरा गरेर निवृत्त जीवन विताई रहेका ६२ वर्षिय चित्रकार डिल्लीकृष्ण आलेको जीवनको उतरार्द दैनिक जासो रंग र कुचीसंगै बित्दै आएको छ । १५/१६ वर्षको उमेर देखी चित्रकलामा रमाउँदै आएका आले जागिरे जीवनमा समेत सक्रिय थिए । झन् निवृत्त भएपछि त चित्रकलामा उनको सक्रियता बढेको छ । जागिरे जीवनकाट अवकास भएपछि घरैमा आराम गरेर खुम्चिएर बस्नु पर्ने मान्यता उनी राख्दैनन् । अहिले उनी पछिल्लो २ वर्षदेखि दिनहुँ जसो विभिन्न स्थानमा स्थगत रुपमा गएर दृश्य चित्र (ल्याण्ड स्केच) उतार्न व्यस्त छन् । आफ्नै गाउँवस्तिको जीवनशैली, मुर्त अमुर्त तथा अर्धमुर्त र अनुहारका चित्र (पोर्टेट) बनाउन पनि उनि उत्तिकै सिद्धहस्त छन् ।

पछिल्लो सयम चित्रकलाको माध्यामवाट धनकुटा नगरपालिका क्षेत्रको धार्मिक, साँस्कृतिक एवं भौगोलिक रुपमा अवस्थित् पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी पर्यटनको प्रवद्र्धन गर्नु मुख्य उदेश्य रहेको आलेले ब्लाष्टलाई बताएका छन् । उनले आफ्नो कलालाईजीवन्त राख्नको लागी चर्चित वाटर कलरबाट पेन्टिङ्ग गर्दै आएका छन् । हालसम्म उनले पुर्वको मोरङ्ग बेलबारीको बेतना सिमसार, याङ्गसिला, सुनसरीको धरान आसपासको क्षेत्रको प्राकृतिक छटाहरुको आकर्षक चित्र कोरि सकेका छन् । उनलाई स्थगत रुपमा पुगेर क्यान्भासमा चित्र उतार्दा छुटै आनन्द लाग्ने गरेको बताएका छन् । उनले शुरुमा स्वअध्ययन र पछि चित्रकालामा गुरु भने धरान मंगलबारे घर भएका चर्चित राष्टिय, अन्तराष्ट्रिय ख्याति प्राप्त वरिष्ठ चित्रकार लेख मगरको प्रेरणाबाट चित्रकला सिकेको बताएका छन् । अहिले पनि निरन्तर रुपमा आफ्ना गुरु लेख मगरबाट प्रेरणा पाईरहेको आलेले ब्लाष्टलाई बताएका छन् ।

यसै क्रममा आलेले धनकुटा नगरपालिका वडा नं.६ स्थित् फोक्ल्याण्ड टापु टोलबस्ती संगठनमा पर्ने दक्षिणकाली मन्दिर र सिंगै टोलको चित्र स्थगलत रुपमा टोल मै पुगेर क्यान्भासमा उतारी दिएका छन् । उनले फोक्ल्याण्ड टापु टोलबस्ती र सो टोलमा पर्ने दक्षिणकाली टोलको प्रचार प्रसार गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको बताएका छन् ।

उनले दक्षिणकाली मन्दिर क्षेत्र वि.सं. १९४४ साल ताका राणा प्रधामन्त्री जंङ्गबहादुरको पाला देखी हालसम्म पनि रहिरहेकाले ऐतिहाशिक धार्मिक स्थल भएको औल्याएका छन् ।

सो समयमा राणा प्रधामन्त्री जंङ्गबहादुर राणाले दक्षिणकाली रथयात्रा धनकुटा बजारमा संचालन गर्ने गरेको, बागको शिकार गर्न बागखोर निर्माण गरेको र अहिले पनि बाखोराको अवशेष दक्षिणकाली मन्दिर परिशरमा रहेको बताएका छन् । त्यसैले गर्दा पनि ऐतिहाशिक धार्मिक स्थललाई प्रचार प्रसार गरेर फोक्ल्याण्ड टोलमै पर्यटकहरुलाई अकार्षणको गन्तव्य बनाउन सकिने तर्क आलेको छ ।

सदरमुकाम धनकुटा बजारबाट नजिकै रहेकाले पनि फोक्ल्याण्ड टापु र दक्षिणकाली मन्दिर धार्मिक पर्यटनको लागी निश्चित गन्तव्य बन्न सक्ने आलेको दाबि छ । साथै उनले ओझेलमा परेका चित्रकार आले अहिलेको युवा पुस्तालाई चित्रकला प्रति मोह जगाएर मार्गदर्शकको रुपमा काम गरेर देखाउने लक्ष्य रहेको बताएका छन् ।

शुक्रबार मात्र आलेको एक साता लामो धनकुटा बजारमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । कलाकार आलेले पानी चित्र, पेन्सिल र अन्य प्रकारका ६५ वटा चित्र प्रदर्शनी कक्षमा समावेस गरेका थिए । कलाकारिताको माध्यमले राष्ट्रिय स्तरको सम्मान तथा मेडल प्राप्त गरिसकेका उनी सकुन्जेल सक्रिय रुपमा चित्रकला क्षेत्रमा लागिरहने बताउँछन् ।

प्रदर्शनीमा अधिकांस संस्कृति, मोठ मन्दिर, चौतारी, गाउँ बस्ति, शहर गल्ली, अनुहार चित्र लगायत समावेस गरेका थिए । ‘रंग र कुचीसंगै भाव पक्षलाई समेटेर चित्र उतार्नुको मज्जा नै बेग्लै हुन्छ’ उनले भने, ‘जीवनसंग जोडिएको चित्र धेरैले मन पराउने हुँदा यसैलाई प्राथमिकतामा राख्ने गर्छु ।’ उनको पहिलो एकल चित्रकला प्रदर्शनी हो ।

प्रदर्शनी हाम्रो वहुमुखी पाठशालाले संयोजन गरेको थियो । प्रदर्शनीको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले क्यानभाषमा चित्र कोरेर उद्घाटन गरेका थिए । मदन चोक नजिक पाठशालाको भवनमा राखिएको प्रदर्शनीमा धनकुटा नगर क्षेत्रका विद्यालयका छात्रछात्रा र दर्जनौ सर्वसाधारणले प्रदर्शनी कक्षको दैनिक जसो अवलोकन गरेको संयोजक सरोज भुजेलले ब्लाष्टलाई बताएका छन् ।