पानवारी । धरानको १४ नं. वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।
शनिबार दन्तकाली माविको हलमा आयोजना १४ नं. वडाले एक कार्यक्रम आयोजना गरी पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको हो । वडामा रहेका बालबालिकाले लगाउनुपर्ने खोप पूर्ण रहेको अवस्था भएपछि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अनुगमन गरेर पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको महाशाखाका प्रमुख घनश्याम सिग्देलले बताए ।
पूर्ण खोप सुनिश्चिता हुनका लागि नवजात शिशुदेखि ५ बर्ष मुनिका बालबालिकाले ११ वटा खोप पूरा गर्नुपर्ने प्रावधान छ । वडामा रहेका ७५ जना बालबालिकाले खोप पूरा गरेको पाइएकोले १४ नं. वडा पूर्ण खोप सुनिश्चिता वडा हुन सफल भएको महाशाखा प्रमुख सिग्देलले बताए ।
१४ नं. वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले चाडै बालमैत्री वडा घोषणाको तयारीमा रहेको समेत जानकारी दिए । कार्यक्रममा पूर्ण खोप सुनिश्चिता घोषणा गर्न सहयोग पु¥याउने स्वास्थ्य स्वयम्सेवी तथा स्थानीयहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । घोषणा कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले खोप बालबालिकाको स्वास्थ्यका लागी नभइ नहुने आधारभूत आवश्यकता रहेको बताउदै आगामी वर्षमा धरान उपमहानगरपालिकालाई नै बालमैत्री उपमहानगर घोषणा गरिने बताइन् ।