पाँचथर । नेपाल–भारत सिमा क्षेत्र अन्तर्गत पाँचथर तर्फको १६ वटा साना सिमा स्तम्भ गायब भएका छन् । पाँचथर प्रहरीले गरेको सिमा स्तम्भ अवलोकनको क्रममा सो परिणामका साना सिमा स्तम्भ नभेटिएको जनाइएको छ ।
उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका १ र २ त्यस्तै फालेलुङ गाउँपलिकाको ३, ४ र ७ नम्बर वडा भारतको सिक्किम र पश्चिम बंगाल राज्य सँग सिमाना जोडिएको छ । पाँचथर अन्तर्गतको ४४.३८ किलोमिटर सिमा क्षेत्रमा जम्मा ११३ वटा सिमा स्तम्भ (पिलर) रहेका छन् । जसमध्ये १०३ साना सिमा स्तम्भमा १६ वटा गायब भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । १६ दिन लगाएर गरिएको अवलोकनमा १०३ साना सिमा स्तम्भ मध्ये ८७ मात्र फेला परेको गौतमको भनाई छ । त्यसमा पनि १२ वटा सिमा स्तम्भको निशाना नै पत्ता नलागेको, चार वटाको भने स्तम्भ राखिएको स्थान सम्म फेला पारिएको अवलोकन टोलिमा संलग्न प्रहरी जवान चन्द्र बहादुर चौहानले बताए । अन्य नौ वटा जंगे (ठूला) र एउटा मझौला सिमा स्तम्भ भने सबै फेला परेको चौहानले बताए । यद्यपी फेला परेका सबै सिमा स्तम्भहरु मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको अवलोकन टोलिमा संलग्न अर्का प्रहरी जवान काजीमान लिम्बूले बताए । उनका अनुसार मानिस र घरपालुवा जनावर पुग्न गाह्रो हुने दुर्गम स्थानका सिमा स्तम्भ सामान्य राम्रै अवस्थामा भेटिएका छन् । सडक पुगेको, चौरी गाईको चरन क्षेत्र र पर्यटकहरुको अवागमन बढी हुने स्थानका सिमा स्तम्भ हराएका र जीर्ण अवस्थामा रहेका छन् । सिमा क्षेत्र सँगै रहेको पर्यटकीयस्थल फालोट क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकहरुको अवागमन बढी हुने गर्दछ । घुम्न आउँने कतिपय मानिस सिमा स्तम्भमा चढ्ने, पिलरलाई हल्लाउँने गर्नाले त्यो क्षेत्रका स्तम्भहरु गायब भएको र जीर्ण अवस्थामा रहेको याङवरक गाउँपालिका–१, च्याङथापुका मंगल बहादुर बेघा बताउँछन् । त्यस्तै चर्ने क्रममा चौरी गाईहरु रगटिने कारणले पनि स्तम्भ जीर्ण बन्न पुगेको पाइएको प्रहरीको भनाई छ । अवलोकन टोलिमा रहेका प्रहरी जवान चौहाने भने– ‘जीर्ण अवस्थामा रहेका कतिपय स्तम्भहरुमा हामीले चौरी गाई रगटिएको निशाना र चौरी गाईको रौंहरु भेटेका थियौं ।’ सिमा स्तम्भको दश गज वरपर दुबै पक्षले कुनै संरचना निर्माण गर्न नहुने भए पनि भारतीय पक्षबाट सिमा स्तम्भ नै धरापमा पर्ने गरी सडक निर्माण गरिंदा कतिपय स्तम्भ जोखिममा समेत परेका छन् । याङवरक गाउँपालिका–२, को तिम्बुङ पोखरी देखि फालेलुङ गाउँपालिका–७, को सन्दकपुर आहाल छेउ सम्मको पाँचथर जिल्ला अन्तर्गतको सिमा क्षेत्रमा ३५ नम्बर देखि ५७÷२ नम्बर सम्मका सिमा स्तम्भ (पिलर) रहेका छन् । कार्यालयको आन्तरिक अभिलेखलाई चुस्त, दुरुस्त राख्न पाँचथर प्रहरीले केही दिन अघि १६ दिन लगाएर सिमा क्षेत्र तथा सिमा स्तम्भहरुको अवलोकन गरेको प्रहरी नायव उपरिक्षक गौतमले बताए । भारतीय पक्षबाट नियमित रुपमा सिमा क्षेत्रको अनुगमन भए पनि नेपाल पक्षबाट भने आक्कल–झुक्कल मात्र अनुगमन हुने गरेको छ ।