पानवारी । इनरुवा नगर क्षेत्र भित्र भइरहेको निर्माण कार्यले खानोपानीका संरचना भत्काउदा ६ महिनादेखि इनरुवाको खानेपानी पूर्ण रुपमा बन्द भएको छ ।

खानेपानी सेवा बन्द हुँदा नगरबासी ६ महिनादेखि काकाकुल हुँदा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै नगरबासीले आक्रोस पोखेका छन् । इनरुवा नगर क्षेत्रमा सडक तथा ढल निर्माण गर्ने क्रममा खानेपानीका सम्पूर्ण पाइपलाइनहरु नष्ट हुँदा खानेपानी वितरण विगत ६ महिनादेखि ठप्प भएको उपभोक्ता समितिका अध्यक्ष दिनेशकुमार सुवेदीले जानकारी गराएका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङबाट लगाइएको निर्माण ठेक्का कालिका कन्ट्रक्सन प्रालिले लिएको थियो । सडक तथा ढल निर्माण गर्दा विग्रिने खानेपानीका सम्पूर्ण संरचना बनाइदिने सहमती शहरी विकास तथा भवन निर्माण विभाग र खानेपानी उपभोक्ता संस्थाबिच भएपनि अहिले बजेट नपुग भएको भन्दै विभाग पन्छिन खोजेको आरोप उपभोक्ता संस्थाले लगाएको छ । पहिले भएको सहमतिमा खानेपानीको पाइपलाइन विछ्याउने र घर घरमा समेत धारा जडान गर्ने सहमती भएको र आफुहरुलाई त्यसको सम्पूर्ण लागत इस्टिमेट माग गरे बमोजिम बुझाइसकिएको संस्थाका अध्यक्ष सुवेदीले बताए । तर अहिले विभिन्न समयमा भएका कुराकानीमा कहिले पाइपलाइन मात्र विछ्याइदिने त कहिले बजेट नभएको भन्दै माथिल्लो निकायमा समन्वय गर्ने आश्वासन दिने गरेको गुनासो सुवेदीले गरेका छन् ।

संस्था पहिले नै २० लाख भन्दा बढी ऋणमा रहेको र संस्थाले पाइपलाइन विछ्याउन सक्ने अवस्था नरहेको भन्दै संस्थाका उपाध्यक्ष ओके दाहालले ६ महिनादेखि संस्थाका ९ जना कर्मचारीलाई तलब समते दिन नसकेको बताए । उनले ६ महिनादेखि उपभोक्ताको घरमा पानी नपुगेकोले उपभोक्ताबाट पैसा उठाउन नसकेको बताएका छन् भने अब संस्था बन्द हुनुको बिकल्प नरहेको बताएका छन् । खानेपानी सेवा बन्द हुँदा अन्य विकल्प समेत नभएकोले इनरुवाबासीमा खानेपानीको चरम अभाव भएको भन्दै संस्थाका उपाध्यक्ष ओके दाहालले संस्थाका कर्मचारीलाई समेत ६ महिनादेखि तलब भत्ता खुवाउन नसकेको बताए । संस्थाले इनरुवा बजारका २६ सय उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको थियो भने खानेपानी वितरण हुँदा संस्थाले मासिक ३ लाख भन्दा बढी रकम आय गर्दै आएको थियो ।

सहरी विकास डिभिजन कार्यालयमा बारम्बार ताकेता गर्दा समेत खानेपानीको लाइन बनाइदिन चासो नदेखाएको भन्दै अब पनि यसको समाधान नभए डिभिजन कार्यालयमा ताला चाबी नै बुझाउने अवस्था आएको संस्थाले जनाएको छ ।