मधुमल्ला । प्राकृतिक स्रोत दोहन पश्चात गठन भएको छानविन समितिले प्रतिवेदन तयार पारेपनि त्यसलाई गुपचुपमै राखिएकोे छ । उर्लाबारी नगरपालिकाले कथित ‘च्यानल खन्ने’ भन्दै सोल्टी र मिक्लुक खोलाबाट मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गरेको थियो । मेयर खड्गबहादुर फागो र विवादास्पद ठेकेदार भीम पौडेलबीचको मिलोमतोमा बालुवा र मिसगिट्टी बिक्री गरेको पाइएपछि सरोकारवालाहरु आक्रोशित बनेका थिए । नदीजन्य पदार्थको अबैध निकासी नरोकिएपछि प्रदेशका मन्त्री, सांसद र मोरङका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले सोल्टी र मिक्लुक खोलाको स्थलगत अवलोकन गरेका थिए । बालुवा र मिसगिट्टी निकासीको प्रकृया मापदण्ड विपरित रहेको पाइएपछि तत्कालै खोला उत्खनन्मा रोक लगाई छानविन समिति गठन गरिएको हो । नेपाल सरकारका सहसचिबसमेत रहेका इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख रामभक्त कुरुम्वाङको संयोजकत्वमा ७ सदस्यीय छानविन समितिले कार्यसम्पादन अगाडि बढाएको थियो । यद्पि, छानविन प्रक्रिया चलिरहेकै बेला कुरुम्वाङको जिल्ला प्रशासन कार्यालय बर्दिया सरुवा भएपछि समितिका अन्य सदस्यहरुले प्रतिवेदनलाई मुर्त रुप दिएका थिए । जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय तथा उर्लाबारी नगरपालिकाका प्राविधिक र प्रहरीका डिएसपी सम्लित छानविन समितिले सोल्टी र मिक्लुक खोलाका सबै किसिमको वातावरणीय परीक्षण गरी प्रतिवेदन तयार पारेका हुन् । स्रोतका अनुसार सो प्रतिवेदनमा खोला आईईई रिपोर्ट, नदीजन्य पदार्थको मात्रा, घनमिटर र उत्खनन् गरिएको स्थानको लम्बाई, चौडाई सबै परीक्षणले खोला उत्खनन् नियम विपरित देखिएको हो । जनप्रतिनिधिकै संम्लग्नतामा प्राकृतिक स्रोतको दोहन भएको विषयलाई कुन कानूनमा टेकेर कार्वाही प्रक्रिया अघि बढाउने भन्ने अन्यौल हुँदा प्रतिवेदन सार्वजनिक गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मोरङको स्रोतले जनाएको छ । उता, सुरक्षा कारण देखाँउदै छानविन प्रतिवेदन गोप्य राखिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । जिसस संयोजक नरेश पोख्रेलले सुरक्षाका कारण भने खुलाएनन् । प्रशासन स्रोतका अनुसार,‘ अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र मनोमानी गर्ने जनप्रतिनिधिलाई कार्वाहीको दायरामा ल्याउन सक्छ, सरोकारवालाहरुले अख्तियारको ध्यानाकर्षण गराएको खण्डमा सो छानविन प्रतिवेदन उपलब्ध गराउँछौं ।’