काठमाडौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले तीन भाषामा नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ। उपमहानगरका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले नेपाली, अंग्रेजी र मैथली भाषा अभिनन्दन पत्र तयार भइसकेको जानकारी दिए। ‘समारोहमा पढेर सुनाउने नेपाली भाषाको पत्रमात्र हो, अरू भाषाका पत्र उहाँलाई दिने हो,’ घिमिरेले भने, ‘अरु भाषामा पनि अभिनन्दन पत्र लेखेर दिने कि भन्ने छलफल चल्दैछ, टुंगो भइसकेको छैन।’

घिमिरेका अनुसार केन्द्र सरकारले ४ भन्दा बढी भाषामा अभिनन्दन पत्र नलेख्न निर्देशन दिएको छ। वैशाख २८ गते बिहान हेलिकप्टरबाट जनकपुर ओर्लिन लागेका मोदीलाई बिहान ९ बजे बाह्र बिगामा उपमहानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम छ। उपमहानगर प्रमुख लालकिशोर शाहले नेपालीमा लेखिएको अभिनन्दन पत्र पढेर सुनाउने छन्। उनले जनकपुर नगरको साँचो पनि मोदीलाई हस्तान्तरण गर्नेछन्।

उपमहानगरको तर्फबाट मोदीलाई दिने उपहारको भने टुंगो लागिनसकेको घिमिरेले जानकारी दिए। नागरिक अभिनन्दन हुनुअघि मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नेछन्। अर्को दिन काठमाडौं महानगरपालिकाले पनि भारतीय प्रधानमन्त्री मोदलिाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।