भद्रपुर । सेन्डिकेटको दवावमा मेची अञ्चलमा यातायात बन्द गराएको आरोपमा ८ जना यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । यातायात बन्द गराउने मेचीका व्यवसायीहरुलाई गृहमन्त्रालयको निर्देशनको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । पक्राउ पर्नेहरुमा मेची बस ब्यवसायी संघका अध्यक्ष मोहनप्रसाद ओली, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका निर्देशक बसन्त तिवारी (वुद्ध), सदस्यहरु राजकुमार पाण्डे, सगरमाथा यातायातका संचालक श्याम थापा, पूर्वी नेपाल बस ब्यवसायी संघका अध्यक्ष केशब गिरी र सगरमाथा यातायातका अध्यक्ष खगेन्द्र उप्रेती, नागरिक यातायात प्रालीका ब्यवस्थापक कृष्ण काफ्ले पक्राउ परेको एसपी केसीले बताए । उनीहरुलाई झापाको पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको उनले बताए । यता यातायात व्यवसायीले सरकारको विरुद्ध सार्वजनिक यात्रुवाहक बस ठप्प पारेपछि मेचीसहितको पूर्वको जनजिवन प्रभावित बनेको थियो ।