हेटौँडा । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा बढ्दै गएको अराजक गतिविधि, हिंसा एवं तस्करी नियन्त्रण गर्न कानुनी कारबाहीलाई प्रभाबकारी बनाउनेमा जोड दिए । आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक स्थायित्व तथा दिगो शान्ति कायम गरी विकासका पूर्वाधारलाई जनता बीच पु¥याउन र शान्ति तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्नका लागि प्रचलित ऐन कानूनमा सुधार गर्नुपर्ने धारणा अघि सारेका थिए । मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको उनको भनाइ थियो । राष्ट्रमा दिगो शान्ति, राजनीतिक स्थायित्व र जनतालाई आर्थिक समृद्धितर्फ क्रियाशील गराउन गत निर्वाचनमा जनताले वाम गठबन्धनलाई अत्यधिक बहुमत दिएकाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको आवश्यकता परेको उनले उल्लेख गरेका थिए ।

अर्को प्रश्नको उत्तरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भन्दै गृहमन्त्री थापाले उहाँको भ्रमणले नेपाल–भारत बीचको सम्बन्धमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।