काठमाडौं/ ह्वाइट हाउसको चीफ अफ स्टाफ जोन केलीले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफूले मूर्ख भनेको भनी छापिएको समाचारलाई खारेज गरेका छन् । एनबीएस न्युजले ह्वाइट हाउसका अज्ञात सूत्रलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा केलीले अनेकौं अवसरमा ट्रम्पका लागि ‘मूर्ख’ शब्द प्रयोग गरेको दाबी गरेको थियो । सैनिक सेवानिवृत्त जनरल जोन केलीले यी दाबीहरूलाई अस्वीकार गरेका हुन् ।
केलीले भने, ‘मैले अन्यको तुलनामा राष्ट्रपतिसँग धेरै समय बिताएको छु र हामीहरूका बीच स्पष्ट र बलियो सम्बन्ध छ । राष्ट्रपतिलाई म को हुँ भन्ने थाहा छ र हामी दुवैजना मूर्ख शब्द प्रयोगको आरोपलाई बकवास मान्छौं ।’ आफू राष्ट्रपति, उनको एजेन्डा र अमेरिकाका लागि प्रतिबद्ध रहेको केलीले बताए ।
उनले एक बयान जारी गर्दै राष्ट्रपतिनिकटका मानिसको छवि बिगार्न अनि ट्रम्प प्रशासनको सफलताबाट ध्यान हटाउन यो झुटो समाचार प्रकाशन गरिएको आरोप लगाए । यसअघि ट्रम्प आफैंले पनि यी खबरहरूलाई खारेज गरेका थिए ।
ट्रम्पले ट्वीट गर्दै लेखे, ‘झुटा खबरहरू धमाधम फैलिरहेका छन् अनि अज्ञात सूत्रको नाम लिइन्छ (वास्तवमा तिनको कुनै अस्तित्व नै छैन।) यो पूरै बकवास हो । मेरो प्रशासनको अपार सफलताले गर्दा उनीहरू यस्तो गर्न र बोल्न विवश छन् । के बोलिरहेका छौं भन्ने उनीहरूलाई नै थाहा छैन । साह्रै खराब मान्छेहरू ।’
यस्ता आरोपका बावजूद ह्वाइट हाउस सुचारु रूपमा काम गरिरहेको उनले लेखे ।
एजेन्सी