पानवारी/ श्रीमान्ले आफुलाई अन्याय गरेको भन्दै एक महिला न्यायको लागि सहयोग मागेकी छन् ।

धरान–१५ एभरेष्ट लाइन बस्ने मैया गुरुङले आफ्नो श्रीमान्ले आफु हुँदा हुँदै दोस्रो पत्नी विवाह गरेको र आफुलाई पीडा दिने गरेको भन्दै दुखेसो पोखेकी छन् । उनका पति ललित गुरुङले दोस्रो विवाह गरी घरमा ल्याएर आफुलाई दुवैजना मिलेर मानसिक यातना दिने गरेको बताएकी छन् ।

संखुवासभा माइति भएकी मैया गुरुङले २०६३ सालमा धरान–१५ निवासी ललित गुरुङसँग जातिय परम्परा अनुसार मागि विवाह गरेकी थिइन् । सो विवाह मैया गुरुङको पहिलो विवाह थियो भने ललितको दोस्रो विवाह थियो । ललितको पहिलो पत्नी उनलाई छाडेर हिडेपछि उनले दोस्रो विवाह गरेका थिए । ललितको पहिलो श्रीमतीबाट २ छोरा र १ छोरी गरी ३ सन्तान जन्मिएका थिए । उनको दोस्रो श्रीमती मैया गुरुङबाट पनि एक छोराको जन्म भएको छ । उनका श्रीमान हङकङका आइडि होल्डर हुन् ।

एक वर्ष अघि मात्रै श्रीमान् हङकङ मै भएको बेला अपरिचित युवती ४ वर्षकी छोरी सहित नन्दको साथी हो भन्दै धरान स्थित घरमा आएको र पछि तीनै युवतीलाई श्रीमान्ले मेरो कान्छी पत्नि हो दुवैजना मिलेर बस्ने भनेर आदेश दिएको बताइन् । श्रीमान्ले अर्काे विवाह गरेर छोरी समेत ४ वर्षको हुँदासम्म आफुले थाहा नपाएको र थाहा पाएपछि मुद्दा हाल्दा अहिले धरौटीमा रिहा भएर आएको गुरुङले बताएकी छन् ।

पीडित मैया गुरुङले भनिन्–‘मेरो श्रीमान्ले जेठी पटिका तीनै जना छोरा छोरीलाई हङकङ लगिसक्नु भएको छ ।’ उनले आफुलाई भने विभिन्न शंका गर्दै म बाट जन्मेको छोरा समेत आफ्नो नभएको आरोप लगाएर पीडा दिने गरेको बताइन् । उनले भनिन् –‘छोरा नै परपुरुषको हो भनेर झगडा गरेपछि डिएनए परिक्षण समेत गरेको र परिक्षणबाट छोरा हामी दुवैजनाको हो भन्ने प्रमाणित भइसक्दा समेत बारम्बार छोरा नै होइन भन्दै झगडा गर्ने’ गरेको बताइन् ।

यतिबेला उनले शान्ती सुरक्षाका लागी प्रहरीमा निवेदन समेत निवेदन दिईकी छन । उनले एक हप्ता अघि आफु असाध्यै अन्यायमा परेको र श्रीमान्बाटै पीडित भएको भन्दै न्याय दिलाइदिन आग्रह गर्दै पत्रकार सम्मेलन समेत गरेकी थिइन् । नेपालको कानुनमा भने बहुविवाह गर्ने पुरुषलाई एकदेखि तीन वर्षसम्म कैद वा पाँचदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

पहिलो श्रीमतीलाई आधा अंश दिनुपर्ने व्यवस्था पनि कानुनमा गरिएको छ । बहुविवाहको उजुरीलाई प्रहरीले संवेदनशील रूपमा नहेर्ने, पीडकलाई पक्राउ र पीडितलाई संरक्षण नदिने तथा घरपरिवारको सहयोग नहुने भएकाले बहुविवाहबाट पीडित महिला थप समस्यामा छन् ।