पानवारी/नेपाल नगरपालिका महासंघ १ नं. प्रदेशले सरकारले स्थानीय सरकारलाई दिएको अधिकार खोसेको भन्दै आपत्ति जनाएको छ ।

महासंघको १ नं. प्रदेश संयोजक तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेतको अध्यक्षतामा मंगलबार धरानमा भएको बैठकले विभिन्न ६ वटा निर्णय गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुरुप सरकारका विभिन्न संयन्त्रहरु स्थानीय सरकारको मातहतमा आउनु पर्नेमा सरकारले एउटा निर्णय गरेर ति संयन्त्रहरु पुनः सोही स्थानमा राखेको भन्दै बैठकले आपत्ति जनाएको थियो ।

सरकारले उपलब्ध गराएको बजेट सिलिङमा चालु आर्थिक वर्षको भन्दा पनि कम बजेट छुट्याएको भन्दै त्यसमा पनि समयानुकुल महंगी र मुद्रा स्फीर्तीलाई ध्यानमा राख्दै बजेटको सिमा बढाउन समेत सरकारले अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै गरी मालपोट रजिष्ट्रेशन तथा प्राकृतिक स्रोत साधनमा लगाइने कर तत्काल स्थानीय सरकारलाई हस्तान्तरण गर्न, स्थानीय सरकारमा कानुन निर्माण गर्ने कार्यलाई सहज बनाउन नमुना कानुन तयार गरी पठाउन अनुरोध गर्ने निर्णय समेत गरिएको बैठक पछि भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

महासंघको बैठकले सरकारले विभिन्न समयमा मर्यादाक्रम बनाउने र मर्यादाक्रम बनाउदा स्थानीय जनप्रतिनिधीहरुलाई वेवास्ता गरी कर्मचारी भन्दा तल राखेको भन्दै त्यसलाई पनि सच्याउन अनुरोध गर्ने निर्णय गरेको छ ।

महासंघको बैठक पश्चात त्यसको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले स्थानीय सरकारलाई विभिन्न वहानामा काम गर्न बन्देज लगाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका थिए । संयोजक बस्नेतले भने ‘स्थानीय तहमा स्रोत साधनको अभाव, बजेटको अभाव तथा मानवीय स्रोतको समेत अभाव भएकोले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकिरहेका छैनौ ।’ उनले भने सरकारले माथिबाट कर्मचारी पठाउदैन र नयाँ कर्मचारी समेत भर्ना गर्न दिदैन त्यसैले अहिले सबै काममा अफ्टेरो परेको छ ।

त्यस्तै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ‘मन्त्रालयको एउटा कोठामा बसेर स्थानीय तहको कर्मचारीको दरबन्दी लगायत बजेट तोक्दा यहाँ हामीलाई काम गर्न असाध्यै गाह्रो भएको’ बताइन् ।

महासंघको प्रवत्तामा भण्डारी

नेपाल नगरपालिका महासंघ प्रदेश नं. १ को प्रवत्तामा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीलाई चयन गरेको छ ।

महासंघको मंगलबार धरानमा बसेको बैठकले महासंघको प्रदेश १ को सदस्य समेत रहेकी भण्डारीलाई प्रबत्ताको जिम्मेवारी दिएको हो । नगरपालिका महासंघ १ नं. प्रदेशको सचिवालय समेत धरानमा रहेको छ ।