ताप्लेजुङ ।ताप्लेजुङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाको फुङलिङ नगरपालिका–७ मा ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने कन्काई भेनियर उद्योग सुरु गरिएको हो । एक करोडको लगानीमा भेनियर उद्योग सुरु गरिएको भेनियर सञ्चालक मान वहादुर भट्टराईले जानकारी दिए । जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको बिकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको सञ्चालक भट्टराईको भनाई छ । खासगरि झापामा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस पाईने भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । मासिक ३० लाख वरावरको कारोवार समेत सुरु हुन थालेको उनलेजानकारी दिए । उद्योगमा ४० जना मजदुरले काम गरिरहेका छन् । उद्योगमा मजदुरको क्षमता हेरि पारिश्रमिक तोकिएको छ । उद्योगमा कार्यरत मजदुरले चार सय देखि एक हजार रुपयाँ सम्म दैनिक पारिश्रमिक पाउने भट्टराईको भनाई छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिसले राम्रो मूल्य पाउने वाताबरण बनेको छ । यता भेनियर उद्योग सञ्चालनमा आए पछि जिल्लामा आयात गरिने खाद्य पदार्थको ढुवानी खर्च समेत घटेको वताईन्छ । प्लाईउडको कच्चा पदार्थ लिनको लागि मालवाहक ट्रक आउने गरेकाले थोरै ढुवानी खर्चमा नै खाद्य पदार्थको जिल्ला भित्राउन सकिएको व्यावसायीहरु वताउँछन् ।