काठमाडौं । सरकारले गम्भीर प्रकृतिका तीन रोगका बिरामीलाई जीविकोपार्जनस्वरुप मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भनेर गरेको निर्णय अन्योलमा परेको छ।
अघिल्लो शेरबहादुर देउवा सरकाले गत पुस १३ मा गरेको सो निर्णय रकम अभावका कारण अन्योलमा परेको हो। गत माघ ११ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले राष्ट्रिय ट्रमा सेन्टरमा पुगी उपचार गराइरहेका मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका २७ बिरामीलाई जनही पाँच हजार रुपैयाँ भत्ता वितरण गरेका थिए।
त्यसयता कसैले पनि जीविकोपार्जन भत्ता नपाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए। तीन रोगका बिरामीलाई भत्ता दिने विषयमा क्याबिनेटले कार्यविधि पास गरे पनि कार्यक्रम स्वीकृति नहुँदा माघबाट दिने भनिएको भत्ता रोकिएको हो।
































