
काठमाडौ । नेपाल प्रहरीले ठगी कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । नेपाली सेनालगायत सुरक्षा निकायमा जागिर लगाई दिने प्रलोभनमा पारी ठगी गर्दै आएका लम्जुङका २, तनहुँका १ र कास्कीका १ जना गरी ४ जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले ठगी कार्यमा संलग्न हुनेहरुमा लमजुङ चन्द्रश्वर नगरपालिकाका २८ वर्षीय मोहन दुरा, लमजुङ दोरदी नगरपालिकाका ४७ वर्षीय पशुपति अधिकारी, तनहुँ व्यास नगरपालिकाका ४० वर्षीया यमुना खड्का र कास्की रुपा गाउँ पालिकाका ३९ वर्षीय रमेश कुमाललाई पक्राउ गरिएको जानकारी गराएको हो ।
दूरालाई काठमाडौंको तारकेश्वरबाट, अधिकारीलाई काठमाडौंको मनमैजुबाट र कुमाललाई काठमाडौंको वनस्थलीबाट पक्राउ गरि आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
निजहरुले राष्ट्रिय अनुसन्धान विभागको सिपाईका लागि प्रतिव्यक्ति २ लाख, नेपाली सेनाको सेकेन्ड लफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेना पठाउने भनि २ लाख तथा विभिन्न देशहरुमा पठाइदिने भन्दै १ करोड १५ लाख ठगी गरी उठाएको पनि अनुसन्धानका क्रममा खुल्न आएको एसएसपी पोखरेलले बताए ।
त्यसमध्ये ठगी कार्यमा संलग्न यमुना खड्काले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजीपीको श्रीमति हुँ भनि चिनाउने गरेको पनि खुलासा भएको छ । निजहरुबाट अन्य व्यक्तिहरु पनि ठगिएको पहिचान भईसकेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
                    
        
                                        
                                                                                                
        































